
सरकारले सेनिटरी प्याडको आयातमा ९० प्रतिशत भन्सार महसुल घटाउँदा कच्चा पदार्थ आयातमा भने उच्च भन्सार महसुल तोकेको भन्दै उत्पादकहरुले असन्तुष्टि जनाएका छन् ।
आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्यमा सेनटिरी प्याडमा लाग्दै आएको १५ प्रतिशत भन्सार महसुलमा ९० प्रतिशत कटौती गरी १.५ प्रतिशत कायम गरिएको छ । तर विदेशबाट कच्चा पदार्थ आयात गरी नेपालमै सेनिटरी प्याड उत्पादन गर्ने उद्योगीले भने विभिन्न वस्तुमा भन्सार महसुल सरदरमा साढे ७ प्रतिशत तिर्नुपर्ने भएकाले नेपालमा उत्पादन गर्नै नसक्ने स्थिति आएको बताएका छन् ।
तयारी सेनिटरी प्याडमा भन्दा कच्चा पदार्थमा बढी भन्सार महसुल तोक्दा नेपालमा उत्पादित सेनिटरी प्याड महंगो पर्ने उनीहरुको भनाइ छ ।
‘स्वदेशमा उत्पादन गर्ने भन्दा आयात गरेर बिक्री गर्दा सस्तो पर्छ’, उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले भने, ‘सरकारको नीतिले उद्योगको भविष्य अन्योलमा परेको छ ।’
बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उद्योगीले स्वदेशी उद्योग बन्द गराउने सरकारको यो नीति परिमार्जन हुनुपर्ने माग गरे । सेनिटरी प्याड उत्पादन गर्न ७ प्रकारका कच्चा पदार्थ भारत र तेस्रो मुलुकबाट आयात गर्नुपर्ने उद्योगीहरु बताउँछन् ।
सेनिटरी प्याड उत्पादन गर्ने उद्योगहरुले प्याकिङ मटेरियलमा ३० प्रतिशत भन्सार महसुल र ५ प्रतिशत अन्तशुल्क तिर्दै आएका थिए । सबै कच्चा पदार्थमा तिर्नुपर्ने सरदर भन्सार दर ७.५ प्रतिशत रहेको उद्योगीको दाबी छ ।
उद्योगीहरुका अनुसार नेपालमा ३५ वटा उद्योगले सेनिटरी प्याड उत्पादन गर्दै आएका छन् र त्यहाँ करिब ६ हजार जनाले रोजगारी पाएका छन् । बजेटको व्यवस्थाका कारण ती उद्योग र कर्मचारीको रोजगारी संकटमा परेको अध्यक्ष प्याकुरेलले बताए ।
विराटनगरस्थित सेनिटरी प्याड उत्पादक जस्मिन हाइजेनिक र हेल्थ एण्ड हाइजिनले आफ्नो उत्पादनलाई विदेशमा पनि निर्यात गरिरहेको थियो । नयाँ नीतिले स्वदेशी उद्योग संकटमा पर्ने मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए ।