सुर्खेत, बैशाख १० । कर्णाली प्रदेशका अनगिन्ती कथा, मौलिक कला र लुकेका पर्यटकीय गन्तव्यहरूलार्ई विश्वमाझ चिनाउने उद्देश्यले ‘तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३’ आयोजना हुने भएको छ ।
बिहीबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सव महोत्सवबारे जानकारी तथा औपचारिक कार्यतालिका सार्वजनिक गरिएको हो ।
‘घूमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने मूल नारा साथ सुरु हुन लागेको महोत्सव उद्घाटन ११ बैशाखमा हुनेछ ।
| मिति | कार्यक्रम | स्थान |
| ११ बैशाख | भव्य उद्घाटन र ‘चलचित्र पर्यटन संवाद’ | सुर्खेत |
| १२ बैशाख | ‘कुपिण्डे चलचित्र पर्यटन समारोह’ | कुपिण्डे दह, सल्यान |
सोही दिन ‘चलचित्र पर्यटन संवाद’ समेत आयोजना गरिनेछ । संवाद कार्यक्रममा चलचित्र विकास बोर्ड, पर्यटन बोर्ड, संघीय, प्रादेशिक र स्थानीय तहका प्रतिनिधिसहित कलाकारको सहभागिता हुने जनाइएको छ ।
दोस्रो दिन सल्यानको प्रसिद्ध पर्यटकीय स्थल कुपिण्डे दहमा ‘कुपिण्डे चलचित्र पर्यटन समारोह’ आयोजना गरिने भएको छ ।
पत्रकार सम्मेलनमा महोत्सव निर्देशक चक्रबहादुर चन्दले कर्णालीमा प्रचुर सम्भावना भएर पनि फिल्म र पर्यटन गतिविधि शून्यप्रायः रहेको अवस्थामा महोत्सव कोशेढुंगा हुने बताउनुभयो ।
संघीय, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी कर्णालीको माटो र कथालाई विश्व मानचित्रमा स्थापित गर्दै यस क्षेत्रलाई अन्तर्राष्ट्रिय ‘सुटिङ हब’का रूपमा विकास गर्ने महोत्सवको दीर्घकालीन योजना रहेको निर्देशक चन्दले बताउनुभयो ।
यस वर्षको महोत्सवको विशेष आकर्षणका रूपमा फिल्मको ‘कथा प्रतियोगिता’लाई अघि सारिएको छ । उत्कृष्ट कथालाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने भएको छ ।














