पोखरा, ११ वैशाख । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले औषधि बजारलाई व्यवस्थित र जिम्मेवार बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ ।
नेपाल औषधि तथा विक्री प्रतिनिधि संघ (एनएमएसआरए) को २९ औं केन्द्रीय महाधिवेशनको पोखरामा उद्घाटनका अवसरमा उहाँले औषधि विक्रीवितरण मानव स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध जोडिएको निकै संवेदनशील पेशा रहेको बताउनुभयो ।
“औषधि कम्पनीका उत्पादनबारे चिकित्सक, स्वास्थ्यकर्मीलाई जानकारी गराउने, औषधिको गुणस्तरीयता, फाइदाबारे अवगत गराउने प्रतिनिधिहरू औषधि उत्पादक कम्पनी र स्वास्थ्य सेवा क्षेत्रबीचको सेतु हुन्।” उहाँले भन्नुभयो ।
प्रदेश प्रमुख भट्टले निजी क्षेत्र आर्थिक अवसर र रोजगारीको स्रोत भएको उल्लेख गर्नुहुँदै निजी क्षेत्र अर्थतन्त्रको ऊर्जा पनि रहेको बताउनुभयो ।
“यसकारण नेपालको अर्थतन्त्र विस्तारका लागि निजी क्षेत्रको भूमिका निकै महत्वपूर्ण रहेको छ । निजी क्षेत्र फस्टाउन सकेन भने अर्थतन्त्र नै समस्यामा पर्छ ।” उहाँले भन्नुभयो – “आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य छ । सरकार र निजी क्षेत्रबीचको सौहार्दपूर्ण सम्बन्धको जगमामात्रै समृद्धि र विकास सम्भव छ ।”
लगानीमैत्री वातावरण सिर्जना गरी निजी क्षेत्रलाई विकासको वास्तविक साझेदार बनाउनु अहिलेको आवश्यकता रहेको उहाँको भनाई छ । महाधिवेशनमा देशभरीका १४ इकाईबाट सात सय भन्दा बढी संख्यामा औषधि विक्री प्रतिनिधिहरू सहभागी रहेको महासचिव निरज पन्तले बताउनुभयो । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।














