पोखरा, बैशाख १२ । कास्की जिल्लाका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको हकहित संरक्षण र उचित व्यवस्थापनका लागि एक शक्तिशाली सरोकार समिति गठन गरिएको छ ।
शनिबार पोखरामा राष्ट्रिय भूमि अधिकार मञ्च कास्की, अखिल नेपाल सुकुम्बासी संघ कास्की र भूमिअधिकार तथा श्रमिक संगठन नेपाल कास्कीको संयुक्त भेलाले उक्त समिति चयन गरेको हो ।
भेलाले राष्ट्रिय भूमि अधिकार मञ्च कास्कीका अध्यक्ष प्रेम बहादुर गुरुङको संयोजकत्वमा ३५ सदस्यीय सरोकार समिति गठन गरेको छ ।
समितिको सहसंयोजकमा रमेश बलकोटी, सचिवमा राजन कुमार गुरुङ, सहसचिवमा कमल खड्का, कोषाध्यक्षमा बेलमाया गुरुङ रहेको ३० सदस्य रहेका छन् भने सल्लाहकारमा ओम बहादुर पौडेल, राम लामिछाने, अर्जुन मल्ल र डिल बहादुर गुरुङ रहेको संयोजक गुरुङले वताउनुभयो ।
साथै यस समितिमा आवश्यकता अनुसार भेग मिलाएर सदस्य थप गर्दै जाने पनि वताइएको छ ।
समितिले भूमिहीन र अव्यवस्थित बसोबासीहरूको जीवनस्तर उकास्न र उहाँहरूको बसोबासलाई व्यवस्थित बनाउन समन्वय र सहकार्य गर्ने, भूमिहीन र सुकुम्बासीहरूको उचित व्यवस्थापनका लागि सम्बन्धित सरकारी निकायहरूसँग निरन्तर समन्वय गर्ने, भूमिसम्बन्धी समस्या समाधानका लागि ठोस योजनासहित सम्बन्धित निकायमा माग राख्ने, वर्तमान भूमि ऐनमा रहेका बाझिएका प्रावधानहरू संशोधन गरी जनमैत्री बनाउन दबाब दिने, विकल्पबिना विस्थापित हुन नदिन र नागरिकको टाउको लुकाउने ओत -घरधुरी) बचाउन पहल गर्ने कार्य गर्ने बताईएको छ ।
समितिका संयोजक गुरुङका अनुसार शान्तिपूर्ण वार्ता र संवादबाटै समस्याको निकास निकाल्न जोड दिइनेछ, तर मागहरू सम्बोधन नभएमा न्यायका लागि शान्तिपूर्ण दबाबका कार्यक्रमहरू समेत गरिने वताईएको छ ।














