पत्रकार महासंघ गण्डकीले संस्थापक अध्यक्ष त्रिभुवन पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गर्ने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, ९ माघ ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आफ्ना संस्थापक अध्यक्ष स्वार्गीय त्रिभुवन पौडेलको स्मिृतिमा अक्षयकोष स्थापना गर्ने भएको छ ।
सोमबार कार्यबहाक अध्यक्ष सोनी शर्माको अध्यक्षतामा बसेको बैठकले आफ्ना संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गर्ने निर्णय गरेको पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले जानकारी दिनुभएको हो ।
उहाँका अनुसार १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने र हरेक बर्ष स्वर्गीय पौडेलको स्मृतिमा ‘संस्थापक अध्यक्ष त्रिभुवन पौडेल स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिने छ ।
महासंघ गण्डकीले ५ लाख रुपैयाँ तत्काल कोषमा राख्ने र बाँकी ५ लाख रुपैयाँ प्रदेश अन्तर्गतका जिल्ला शाखा र शुभचिन्तकहरुसंग समन्वय गरे जुटाउने सुवेदीले बताउनुभयो ।
उक्त कोषबाट ‘त्रिभुवन पौडेल स्मृति पत्रकारिता पुरस्कार’ हरेक वर्ष प्रदेश भरका पत्रकार मध्यबाट एक पत्रकारलाई (पछि कार्यविधि तय भए अनुसार) प्रदान गरिनेछ ।

पुरस्कार सम्बन्धि कार्यविधि भने पछि बनाइने महासचिव सुवेदीले बताउनुभयो । ‘अहिलेलाई अक्षयकोष स्थापना गर्ने निर्णय भएको छ । यही कोषबाट हरेक वर्ष हाम्रा संस्थापक अध्यक्षको स्मृतिमा प्रदेश स्तरीय पत्रकारिता पुरस्कार प्रदान गरिनेछ । यसको कार्यविधि बनेपछि बनाइने छ’ उहाँले भन्नुभयो ।

यसैबिच पत्रकार महासंघ गण्डकीले सोमबार नै स्वर्गीय पत्रकार पौडेलको निवासमा पुगेर श्रद्धाञ्जलीसभा गरेको छ ।
श्रद्धाञ्जली सभामा कार्यबहाक अध्यक्ष सोनी शर्माले गण्डकी प्रदेश मात्र नभई सिंगो पत्रकारिताको क्षेत्रमा संस्थापक अध्यक्ष स्वर्गीय पौडेलको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

यही माघ १ गते काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटना हुँदा त्यसमा सवार ७२ जना सहित पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष रहेका ३७ वर्षे पौडेलको पनि निधन भएको हो ।

पौडेल नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य र पत्रकार महासंघ गण्डकीको सल्लाहकारका साथै त्यसअघि महासंघ कास्कीको उपाध्यक्ष एवं २ कार्यकाल सचिव हुनुभएको थियो । राष्ट्रिय स्वाभिमान साप्ताहिकबाट २ दसकभन्दा अघि पत्रकारिता सुरु गर्नुभएका पौडेलले पोखरा हटलाइन दैनिक, रेडियो अन्नपूर्ण र नेपाल टेलिभिजनमा आवद्ध भई पत्रकारिता गर्नुभएको थियो ।
पछिल्लो समय उहाँ पोखरा हटलाइन दैनिकको प्रकाशक/सम्पादक हुनुहुन्थ्यो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला