६४औँ इन्जिनियर्स दिवसः पोखरामा रक्तदान र फुटसल सम्पन्न, साउन ८ मा म्याराथन हुने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, साउन ५ । ६४औँ इन्जिनियर्स दिवस २०८३ को अवसरमा नेपाल इन्जिनियर्स एसोसिएसन (एनईए) गण्डकी प्रदेश समितिले विभिन्न सामाजिक तथा खेलकुद कार्यक्रम सञ्चालन गरेको छ । दिवसको अवसरमा साउन ३ गते आयोजित रक्तदान कार्यक्रममा ३० पिन्ट रगत संकलन भएको छ ।

नेपाल रेडक्रस सोसाइटी, कास्कीको प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रमा सम्पन्न रक्तदान कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिकाका वरिष्ठ इन्जिनियर सुरेन्द्र पौडेलले पहिलो रक्तदाता लोकेश राईलाई ब्लड ब्याग हस्तान्तरण गर्दै गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशका अध्यक्ष इन्जिनियर सन्तोष जिसीले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको बताउँदै एक थोपा रगतले पनि कसैको जीवन बचाउन सक्ने भएकाले यस्ता मानवीय अभियानलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो ।

रक्तदान कार्यक्रमका संयोजक इन्जिनियर कालिदास सापकोटाले रक्तदान मानवताको उत्कृष्ट सेवा भएको बताउँदै सबैलाई नियमित रक्तदानमा सहभागी हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल इन्जिनियर्स एसोसिएसनका केन्द्रीय सदस्य इन्जिनियर अवित केसी, गण्डकी प्रदेशका सचिव इन्जिनियर निरज लामिछाने, गण्डकी प्रदेश समितिका सदस्यहरू इन्जिनियर महेन्द्र पौडेल, इन्जिनियर मनोज गिरी, इन्जिनियर सुमन शर्मा लगायत इन्जिनियरहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

यसैबीच, इन्जिनियर्स दिवसको अवसरमा साउन २ गते आयोजित एनईए फुटसल प्रतियोगिता–२०८३ को उपाधि आर्क डी टोलीले जितेको छ । फाइनल खेलमा सीता बिल्डर्स ए लाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै आर्क डी च्याम्पियन बनेको हो। निर्धारित समयमा दुवै टोलीले ५–५ गोलको बराबरी खेलेका थिए ।

प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको थियो भने दर्ता शुल्क ५ हजार रुपैयाँ कायम गरिएको थियो । प्रतियोगिताका विजेता टोलीले ५० हजार नगद, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशका सदस्य इन्जिनियर महेन्द्र पौडेलले जानकारी दिनुभयो ।
उपविजेता टोलीले २५ हजार नगद, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको थियो । प्रतियोगिताको संयोजन गण्डकी प्रदेश समितिका सदस्य इन्जिनियर सञ्जयराज तिम्सिनाले गर्नुभएको थियो ।
यसैगरी, इन्जिनियर्स दिवसकै अवसरमा नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशले साउन ८ गते बिहान ६ः३० बजे “स्वास्थ्यका लागि इन्जिनियर दौड–२०८३” शीर्षकमा ५ किलोमिटर म्याराथन आयोजना गर्ने भएको छ ।

पोखरा इभेन्ट सेन्टर, बुलौंदीबाट सुरु हुने दौड हलनचोक, बराहीचोक, बसुन्धरा पार्क, सहिदचोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मासबार हुँदै पुनः पोखरा इभेन्ट सेन्टरमा पुगेर सम्पन्न हुनेछ ।
प्रतियोगितामा इन्जिनियर तथा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूका महिला र पुरुषतर्फ प्रथम, द्वितीय तथा तृतीय हुनेलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । साथै, कार्यक्रममा ज्येष्ठ इन्जिनियरहरूलाई विशेष सम्मानसमेत गरिने आयोजकले जनाएको छ ।

५ किलोमिटर म्याराथनका संयोजक इन्जिनियर महेन्द्र पौडेल रहनुभएको छ । उहाँका अनुसार इन्जिनियरिङ पेशाको गरिमा अभिवृद्धि, युवा इन्जिनियरहरूलाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्दै समृद्ध नेपालको निर्माणमा इन्जिनियरहरूको भूमिका थप सशक्त बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

नेपाल इन्जिनियर्स एसोसिएसनले यस वर्ष “इन्जिनियरिङ हाम्रो प्रतिबद्धता, समृद्ध नेपाल हाम्रो लक्ष्य” भन्ने मूल नाराका साथ ६४औँ इन्जिनियर्स दिवस विविध कार्यक्रम गरी मनाइरहेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला