सोलुखुम्बुको १०५ मिटर अग्लो जुम्लिया झरना प्राज्ञ नगेन सिंहको “त्रिकोण क्यानभास”मा

नगेन न्यूज
  • ख-
  • ख+

साउन १६, सोलुखुम्बु । नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा चिनाउने महाअभियानका साथ देशव्यापी यात्रामा रहनुभएको वरिष्ठ कलाकार तथा प्राज्ञ नगेन सिंह ठकुरीले सोलुखुम्बुको सुन्दर जुम्लिया झरना (पस्धा छाँगा) लाई आफ्नो “त्रिकोण क्यानभास”मा उतार्नुभएको छ ।

“जय कला क्रान्ति, विश्वमा छाओस् शान्ति” अभियानका संयोजक समेत रहनुभएको प्राज्ञ ठकुरीले माप्य दुधकोशी गाउँपालिका–५, धकमलुङस्थित नाग दह मुहान रहेको प्राकृतिक सम्पदाले परिपूर्ण सो झरनाको प्रत्यक्ष (लाइभ) चित्रण गर्नुभएको हो ।

चित्रण कार्यक्रममा स्थानीय जसबहादुर राई, अर्जुन राई, नुरी शेर्पा, पुष्पा राई, सोनि शेर्पा तथा स्थलगत कला भ्रमण संयोजक नकुल सिंह ठकुरी लगायत स्थानीयवासीको बाक्लो उपस्थिति रहेको थियो ।

सो अवसरमा स्थानीयहरूले १०५ मिटर अग्लो जुम्लिया झरनाको ऐतिहासिक गरिमा, सांस्कृतिक पहिचान र प्राकृतिक संरचनाबारे प्राज्ञ ठकुरीलाई जानकारी गराएका थिए ।

प्राज्ञ ठकुरीको क्यानभासमा कोरिएको यो चित्रले सोलुखुम्बुको ओझेलमा परेको प्राकृतिक सौन्दर्यलाई विश्वमञ्चमा चिनाउन ठूलो मद्दत पुग्ने र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने भन्दै स्थानीय जसबहादुर राईले अभियानको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

पूर्व प्राज्ञ सभा सदस्य तथा राष्ट्रिय सम्मान “प्रबल जनसेवाश्री” (२०८०) बाट विभूषित प्राज्ञ नगेन सिंहले लुम्बिनी, सगरमाथा, पशुपतिनाथ, मुक्तिनाथ लगायत राष्ट्रिय निकुञ्जका डेढ सयभन्दा बढी सम्पदाहरू क्यानभासमा उतारिसक्नुभएको छ ।

उहाँको लक्ष्य देशका ७७ वटै जिल्लाका कम्तीमा ३–३ वटा धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाहरूलाई त्रिकोण क्यानभासमा समेटी “नेपाल कला यात्रा” पुस्तकको दोस्रो संस्करणको तयारीमा रहनुभएको छ ।
उक्त कृतिलाई १९७ भाषामा अनुवाद गरी विश्वभरका विश्वविद्यालय तथा पुस्तकालयहरूमा पु¥याउने र वि.सं २०८७ सम्ममा नेपालमा १ करोड पर्यटक भित्राउने लक्ष्य राखिएको छ ।

करिब ५ लाख नेपालीको सहभागितामा प्रकाशित गरिने यस ऐतिहासिक कृतिका लागि स्वतःस्फूर्त रूपमा रु. १०० योगदानको “प्रकाशक अभियान” समेत सञ्चालन भइरहेको छ ।

संयोजक नकुल सिंह ठकुरीका अनुसार सिन्धुली पुग्दासम्म यस अभियानमा २ हजार ३ सय ३३ जना प्रकाशक जोडिइसकेका छन् ।
साथै, अभियानका क्रममा हालसम्म ७ सयभन्दा बढी प्रति पुस्तक बिक्री भइसकेको अभियन्ता नुरी शेर्पाले जानकारी दिनुभयो ।

कलाका माध्यमबाट देशको पहिचान विश्वभर फैलाउने उद्देश्यले सुरु भएको यो “७७ जिल्ला स्थलगत कला भ्रमण”ले नेपालको सांस्कृतिक तथा प्राकृतिक पर्यटनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला