पोखरा, ९ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ -फोनिज), गण्डकीद्वारा सञ्चालित “कञ्चन पत्रकारिता पुरस्कार–२०८३” खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा) लाई प्रदान गरिने भएको छ ।
प्रतिभा छनोट समितिले गरेको सिफारिसअनुसार फोनिज गण्डकीको बैठकले सारुमगर र जिटीको नाम अनुमोदन गरेको फोनिज गण्डकी अध्यक्ष खिमा गुरुङले जानकारी दिनुभयो ।
पुरस्कार राशि जनही २५ हजार र सम्मानपत्र छ ।
फोनिजका संघीय सल्लाहकार शान्ति गुरुङको संयोजकत्वमा रहेको प्रतिभा छनोट समितिले पत्रकार सारुमगर र जिटीको नाम सिफारिस गरेको हो ।
समितिको सदस्यमा फोनिज गण्डकी संघीय सचिव एमबी आस्था मगर, फोनिज गण्डकीका सल्लाहकार मनोज घर्तीमगर, अध्यक्ष खिमा गुरुङ र महासचिव सुरज थापामगर थिए ।
पुरस्कृत हुने पत्रकार खेम सारुमगर सार्वजनिक सेवा प्रशारण रेडियो नेपाल, प्रादेशिक प्रशारण केन्द्र, पोखरामा कार्यरत हुनुहुन्छ । तत्कालिन रेडियो नेपाल क्षेत्रीय प्राशारण केन्द्र, पोखरामा २०५१ सालबाट पत्रकारिता सुरु गर्नुभएको सारुमगरसँग समाचार बाचक (मगर भाषा), समचार सम्पादक हुदैं वरिष्ठ सम्पादक भई कार्य गरेको अनुभव छ ।
स्याङ्जाका गोपाल जिटी २०६७ सालदेखि सञ्चारकर्म जोडिउनुभएको हो । उहाँले सामुदायिक रेडियो वालिङ एफ एम र वालिङ टेलिभिजनमा काम गरिसक्नुभएको छ । अहिले उहाँ प्रमाण मिडिया ग्रुप प्रालि अन्तर्गतको प्रमाण न्यूज साप्ताहिक र प्रमाण अनलाइनमा कार्यरत हुनुहुन्छ ।
उहाँहरुलाई फोनिज स्थापना दिवसका अवसरमा साउन २१ गते पोखरामा सम्मान समारोह आयोजना गरी पुरस्कृत गरिनेछ ।
पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र उनका परिवारले आफ्ना स्व. बावुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा यो पुरस्कार स्थापना गर्नुभएको हो । गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील २ जना पत्रकारलाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिदै आएको छ ।
यसअघि कास्कीका रुद्रबहादुर थापा, शान्ति गुरुङ, उदयबहादुर अमात्य, हुमबहादु तमु, दीपेन्द्र श्रेष्ठ, राम गुरुङ, बागलुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केबी राना, लमजुङका आश गुरुङ, मुस्ताङका सुन्दरकुमार थकाली, नवलपुरकी कमला राना, गोरखाका कैलाशबाबु श्रेष्ठलाई यो पुरस्कार अर्पण गरिसकिएको छ ।















