पोखरा, २० असार । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले हाम्रा अमूल्य सांस्कृतिक सम्पदामध्ये लोकभजन चुड्काहरू अध्यात्मिक चेतना, सामाजिक सद्भाव र सांस्कृतिक निरन्तरताको महत्वपूर्ण प्रतीक रहेको बताउनुभएको छ ।
राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश समितिको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनमा प्रमुख अतिथि भट्टले हिमाल, पहाड र तराईका विभिन्न समुदायले सिर्जना गरेका लोकगीत, लोकभजन, लोकनृत्य, भाषा, साहित्य, कला र संस्कारहरूले हाम्रो राष्ट्रिय जीवनलाई समृद्ध बनाएको बताउनुभयो ।
“नेपालको मौलिक पहिचान यसको सांस्कृतिक विविधतामा निहित छ । यिनै भजन चुड्कामा जुन ऊर्जा, सङ्गीतको गहिराइ र अनुशासन हुन्छ, त्यो संसारका अन्य कुनै संगीतमा पाउन गाह्रो छ ।” प्रदेश प्रमुख भट्टले भन्नुभयो ।
“भजन चुड्का भगवानको प्रार्थना र भक्तिगान मात्र होइन” यसले सत्य, करुणा, नैतिकता, सहिष्णुता, अनुशासन, सामाजिक एकता र मानव सेवाको सन्देश पनि प्रवाह गर्दछ ।” उहाँले भन्नुभयो – “गाउँघरका मन्दिर, भजनमण्डली र सामुदायिक जमघटहरूमा पुस्तौंदेखि गुञ्जिँदै आएको यो परम्पराले नेपाली समाजलाई एकसूत्रमा बाँध्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।”
हाम्रो गण्डकी प्रदेश प्राकृतिक रूपमा जति सुन्दर छ, सांस्कृतिक रूपमा त्योभन्दा कयौँ गुणा धनी रहेको बताउँदै उहाँले यहाँको माटोमा खैंजडीको ताल, मुजुराको झङ्कार र लोकभजनको सुगन्ध मिसिएकोले गण्डकी लोक संस्कृति र भजनको उद्गम स्थल रहेको उल्लेख गर्नुभयो ।
“आजको विश्व तीव्र परिवर्तनको चरणमा छ । आधुनिक प्रविधि, विश्वव्यापीकरण र बदलिँदो जीवनशैलीका कारण परम्परागत कला–संस्कृतिहरू अनेक चुनौतीसँग जुधिरहेका छन् । यस्तो अवस्थामा चुड्का जस्ता मौलिक सांस्कृतिक सम्पदाको संरक्षण गर्नु हाम्रो साझा जिम्मेवारी हो ।” उहाँले थप्नुभयो – “संरक्षण भनेको विगतको सम्झना मात्र सुरक्षित राख्नु होइन, भविष्यका पुस्तालाई आफ्नो पहिचान र सभ्यतासँग जोड्ने दायित्व पनि हो ।”
आधुनिकीकरण र पश्चिमा संस्कृतिको बढ्दो प्रभावका कारण हाम्रा यस्ता रैथाने कला र संस्कृतिहरू संकटमा पर्दै गएको उहाँको चिन्ता छ । “हाम्रो अबको चुनौती भनेको यो भजन चुड्कालाई नयाँ पुस्तासम्म कसरी पु¥याउने भन्ने नै हो । यस्तो चुनौतीपूर्ण समयमा यस प्रतिष्ठानले लोकभजन र चुड्काको संरक्षण, सम्वद्र्धन र पुस्तान्तरणका लागि जे–जस्तो भूमिका खेलिरहेको छ, त्यो निकै सराहनीय छ ।” उहाँले भन्नुभयो ।
उक्त अवसरमा प्रदेश प्रमुख भट्टले भजन चुड्का प्रस्तुत गर्ने दुई जना ७ वर्ष र १२ वर्षका बालकलाई नगद प्रदान गरी हौसला प्रदान गर्नुभयो ।















