पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ की वडा सदस्य गीता चर्माकारले पोखरा महानगरपालिकाका धार्मिक तथा शैक्षिक संस्थाहरूलाई पत्थरका मूर्ति र छाता हस्तान्तरण गर्नुभएको छ ।
उहाँले दरबारथोकस्थित चण्डीमाई सेवा समितिलाई भगवती चण्डीको पत्थरको मूर्ति तथा पोखरा बहुमुखी क्याम्पसलाई सरस्वती मुर्तिको लागि फलामको छाता हस्तान्तरण गरिएको हो ।
त्यसैगरी, महेन्द्र माध्यमिक विद्यालय र नवप्रभात माध्यमिक विद्यालय, नयाँबजार लाई एक थान सरस्वतीको पत्थरको मूर्ति हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा बोल्दै वडा सदस्य गीता चर्माकारले धार्मिक आस्था, सांस्कृतिक संरक्षण तथा विद्यालयमा विद्याकी देवी सरस्वतीप्रतिको सम्मान अभिवृद्धि गर्ने उद्देश्यले मूर्ति हस्तान्तरण गरिएको बताउनुभयो । उहाँले यस्ता सामाजिक तथा धार्मिक कार्यले समुदायमा सकारात्मक सन्देश प्रवाह हुने र आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
चण्डीमाई सेवा समितिका अध्यक्ष तेजबहादुर भुजेलले समितिको तर्फबाट वडा सदस्य गीता नेपाली प्रति आभार व्यक्त गर्दै प्राप्त सहयोगले मन्दिरको सौन्दर्य र धार्मिक गतिविधिमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नवप्रभात माध्यमिक विद्यालयकी प्रधानाध्यापक माया थापाले पनि सरस्वतीको मूर्ति प्राप्त हुनु विद्यालयका लागि गौरवको विषय भएको उल्लेख गर्दै यसले विद्यार्थीहरूमा ज्ञान, संस्कार र सांस्कृतिक चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो ।
स्थानीयवासीले धार्मिक, शैक्षिक र सामाजिक क्षेत्रलाई जोड्ने यस्तो कार्यको प्रशंसा गर्दै यस्ता उदाहरणीय अभियानलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका थिए ।
हस्तान्तरण कार्यक्रममा चण्डीमाई सेवा समितिका अध्यक्ष तेजबहादुर भुजेल, पोखरा महानगरपालिका वडा नं. ३ की वडा सदस्य सवि परियार, पोखरा–९ की पूर्व वडा सदस्य राममाया मानन्धर, पोखरा नगर प्रज्ञा प्रतिष्ठानका प्राज्ञ रवीन्द्र माकाजु, दरबारन्युजका अध्यक्ष तथा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय सदस्य कृष्ण रानाभाट, ज्योतिष पण्डित बिशाल चापागाईंलगायतले बोलेका थिए ।















