पोखरा । आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र “पेन्सन पट्टा” को मौलिक गीत “जुनी जाला” पोखरामा एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ ।
पोखराको मिडटाउन सिनेमाजमा आयोजित कार्यक्रममा चलचित्रको निर्माण टोली, कलाकार, गुरुङ समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधि तथा चलचित्र कर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
सार्वजनिक गरिएको “जुनी जाला” गीतले गुरुङ समुदायको मौलिक संस्कृति, भेषभूषा, संगीत र जीवनशैलीलाई आकर्षक ढंगले प्रस्तुत गरेको छ ।
कार्यक्रममा प्रदर्शन गरिएको गीतलाई उपस्थित दर्शकले निकै रुचाएका छन् भने गीतको दृश्य, संगीत र सांस्कृतिक प्रस्तुतिको खुलेर प्रशंसा गरेका छन् ।
गीतमा हर्क साउदको शब्द, मनोज थापा मगरको संगीत रहेको छ । राजबहादुर गुरुङ, सरुन गुरुङ, उषा गुरुङ र प्रिया गुरुङले स्वर दिएको गीतमा चलचित्रका प्रमुख कलाकार दयाहाङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, माया गुरुङ, विश्वास गुरुङ, पशुपति राई लगायतले आकर्षक नृत्य प्रस्तुत गरेका छन् ।
गीतको छायाङ्कन कास्कीको रमणीय गाउँ ताङतिङ मा गरिएको हो भने कोरियोग्राफी कमल गुरुङले गर्नुभएको छ ।
चलचित्रका लेखक तथा निर्देशक माओत्से गुरुङले “पेन्सन पट्टा” गुरुङ समुदायको मौलिक जीवन, परम्परा र सामाजिक यथार्थलाई केन्द्रमा राखेर निर्माण गरिएको भए पनि यसको कथा सम्पूर्ण नेपाली दर्शकले आत्मसात गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । गुरुङ समुदायको परिवेशमा आधारित भए पनि चलचित्रको भाव, कथा र सन्देश सबै समुदायका दर्शकलाई छुने गरी तयार गरिएको उहाँको भनाइ छ ।
उहाँले सार्वजनिक गरिएको “जुनी जाला” गीतले पनि दर्शकको मन जित्ने विश्वास व्यक्त गर्दै चलचित्रको सफलतामा गीतले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गर्नुभयो । गीत सार्वजनिक भएसँगै चलचित्रको प्रचारप्रसारलाई अझ सशक्त बनाइने जानकारी पनि उहाँले दिनुभएको छ ।
चलचित्रकी निर्माता सपना गुरुङले चलचित्रको कथावस्तुले आफूलाई गहिरो रूपमा प्रभावित पारेपछि लगानी गर्ने निर्णय गरेको बताउनुभयो । समाजको यथार्थ चित्रण गर्ने विषयवस्तु भएकाले चलचित्रप्रति आफ्नो विश्वास बढेको उल्लेख गर्दै उहाँले मौलिक संस्कृति झल्काउने गीतले पनि दर्शकको मन छुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा गुरुङ समुदायसँग आबद्ध विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले चलचित्र पेन्सन पट्टाले गुरुङ समुदायको भाषा, संस्कृति, परम्परा र जीवनशैलीलाई राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।
यतिबेला निर्देशक माओत्से गुरुङ चलचित्रको प्रचारप्रसारमा देशका विभिन्न स्थानमा सक्रिय हुनुहुन्छ । निर्माण टिमले गीत सार्वजनिक भएसँगै प्रचार अभियानलाई थप तीव्र बनाउने तयारी गरेको जनाएको छ ।
“पेन्सन पट्टा” आगामी भदौ २६ गतेदेखि नेपालभर प्रदर्शनमा आउनेछ । चलचित्रले गुरुङ समुदायको मौलिक कथा र सामाजिक यथार्थलाई नेपाली चलचित्रमार्फत दर्शकमाझ प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।















