पोखरा, साउन १ । जनकवि केशरी धर्मराज थापाको १ सय २ औं जन्मजयन्ती, बिभिन्न कार्यक्रम गरी मनाईएको छ । लोक साहित्यका क्षेत्रमा विशेष योगदान पुर्याएका जनकवि थापा वि.सं. १९८१ साउन १ गते पोखराको बाटुलेचौरमा जन्मिनुभएको थियो ।
नेपाली लोक साहित्यको सेवा र श्रीवृद्धिका लागि थापा स्वदेशमा मात्र नभई विदेशमा समेत पुग्नुभएको थियो ।
लोक साहित्य र गीत, संगीतका शिखर पुरुष जनकवि थापाले लोक संस्कृतिमा आधारित विभिन्न पुस्तक प्रकाशन गरी र विभिन्न लोक रचनामा आवाज भरेर पनि नेपाली लोक संगीतलाई विश्व माझ चिनाउनुभयो । उहाँले लेखेको गण्डकीका सुसेली नामक कृतिमा गण्डकी क्षेत्रका विभिन्न ठाउँको ऐतिहासिक परिचय पाउन सकिन्छ ।
जीवनको अधिकांश समय लोक साहित्य रचना एवम् खोजी कार्यमा विताएका थापाले साहित्यको सेवा गर्न पोखरामा शुक्ला साहित्य प्रतिष्ठानको समेत स्थापना गर्नुभयो । जनकवि केशरीको स्मृतिमा प्रतिष्ठानले राष्ट्रिय पुरस्कार समेत संचालन गरिरहेको छ । थापाको २०७१ असोज २८ गते काठमाडौ स्वयम्भु स्थित आफ्नै निवासमा निधन भएको थियो । थापाको बाटुलेचौरस्थित जन्मघरलाई कविकुञ्जका रुपमा विकास गरिएको छ । यद्यपी त्यसको व्यवस्थित विकास हुन भने सकेको छैन ।
जनकवि केशरी थापाको जन्मजयन्तीका अवसरमा शुक्ला साहित्य प्रतिष्ठान पोखराले विशेष कार्यक्रमको आयोजना गरी उहाँको स्मरण गरेको छ । प्रतिष्ठानले बाटुलेचौरमा गरेको कार्यक्रममा जनकवि केशरी थापाको व्यक्तित्व र कृतित्वको चर्चा गरिएको छ ।
कवि एवम् थापाका सुपुत्र कुञ्जराज थापाले लोक साहित्य र संस्कृतिको चर्चा गर्दै, यसको संरक्षण भएमात्र जनकविप्रति सच्चा स्मरण हुने बताउनुभयो ।
धर्मराज सावित्री प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले धर्मराज थापाको जन्मघरलाई कविकुञ्जको रुपमा विकास गरिएको बताउनुभयो । उहाँले प्रतिष्ठानसँगको सहकार्यमा जनकवि केशरी थापाका अप्रकाशित कृति प्रकाशनसँगै यसको प्रवद्धन गरिने बताउनुभयो ।
कार्यक्रममा थापाप्रति सर्मपित कविता बाचन गरिएको छ । कविहरु मातृकाप्रसाद ढुँगाना, छविलाल आचार्य, मदनराज थापा, ईन्दु भट्टराई ,प्रकाश भट्टराई, रिता काफ्ले र शिशिर उजाडले लोक साहित्यसँग सम्वन्धित कविता वाचन गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष दुर्गादेवी बस्नेतको अध्यक्षतामा भएको कार्यक्रम पोखरा १६ का वडा सदस्य रामचन्द्र आचार्य, प्रतिष्ठानका सल्लाहकार मदनराज थापा,पुर्व अध्यक्ष कुलबहादुर खत्री, जय मनकामना वचत तथा ऋण सहकारीका अध्यक्ष नवीन भण्डारी, जेष्ठ नागरिकका पूर्व कोषाध्यक्ष चित्रबहादुर थापालगायतले नेपाली साहित्यको विकासमा कवि थापाले पुर्याएको योगदानको चर्चा गरेका थिए ।
प्रतिष्ठानका उपाध्यक्ष एवं कार्यक्रमका संयोजक गीता भण्डारीले स्वागत गरेको कार्यक्रममा संचालन सहसचिव संजय थापाले गर्नुभएको थियो ।















