सहारालाई हराउँदै धरान क्वाटरफाइनलमा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, १४ पुष ।
सहारा क्लब पोखराको आयोजनामा भएको २२ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा धरान फुटबल क्लबले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरालाई १–० गोलअन्तरले हराउँदै धरानले क्वाटरफाइनलमा प्रवेश गरेको हो । प्रकाश बुढाथोकीले पहिलो हाफमा गरेको गोल नै निर्णायक सावित भएको थियो ।

धरानले खेल सुरु भएको चौथो मिनेटमै अग्रता लियो । तेस्रो मिनेटमा सहाराका भगवत चौधरीले प्रकाशलाई लडाएपछि फ्रिकिको अवसर प्राप्त गरेको थियो । उक्त फ्रिकिक प्रकाशले नै प्रहार गर्दै सुन्दर गोल गरे । १० औं मिनेटमा सहाराले खेलमा फर्किने अवसर खेर फाल्यो । कप्तान सुशिल लामाको लो क्रसमा विक्रम सिंह ठकुरीले हेडर प्रहार गरेपनि पोष्ट नजिकैबाट बाहिरियो । २३ औं मिनेटमा अमिन लामाले अवसर खेर फाले । विक्रमले निकालिदिएको निकै आकर्षण पासलाई नियन्त्रणमा लिएपनि उनी अतालिदाँ प्रहार गर्न सकेनन् । २४ औं मिनेटमा धरानका प्रकाशको क्रसलाई विजय भुजेलले भेट्न नसक्दा अग्रता दोब्बर पार्नबाट चुक्यो ।

२९ औं मिनेटमा धरानका वर्तमानको प्रहार क्रसबारमा लाग्दै बाहिरियो । पहिलो हाफमा थप गरिएको तिन मिनेटमा धरानका गोलरक्षक सौरभ बरालले फुत्काएको बलमा भगवतको प्रहार बाहिरिँदा सहारा खेलमा फर्किन सकेन । दोस्रो हाफमा खेलमा फर्किने प्रयास गरेको सहाराले केहि सुधारिएको खेल देखाएपनि फरवार्ड लाइनमा जम्न सकेन । ६९ औं मिनेटमा सहाराका अनिल गुरुको उत्कृष्ट प्रहारलाई धरानका गोलरक्षक सौरभले विफल पारे ।

यस्तै ७२ औं मिनेटमा सहाराले गोल गर्ने सुवर्ण अवसर खेर फाल्यो । धरानका डिफेन्डर विट भइसकेको अवस्थामा मिडफिल्डर मुकुन्द न्युरेले वान भर्सेस वानमा गोल गर्न सकेनन् । पेनाल्टि एरियामा पाएको उक्त अवसरमा सौरभ बाधक बने । निर्धारित ९० मिनेटको खेल सकिएपछि थप गरिएको ६ मिनेटको अन्तिम समयमा सहाराले अन्तिम मौका पनि खेर फाल्यो । मुकुन्दको उत्कृष्ट क्रसपासमा अनिल गुरुङको हेडर बाहिरिँदा सहाराको यात्रा समाप्त भएको हो । धरानले अब शनिबार क्वाटरफाइनलमा साविक विजेता नेपाल एपिएफ फुटबल क्लबको सामना गर्नेछ । प्रतियोगिताको प्रि क्वाटरफाइनलमा विहीबार नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला