पोखरामा सहरी विकासमा सामाजिक संस्थाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
पोखरामा सहरी विकासमा सामाजिक संस्थाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ पोखरा न्युरोडले आयोजना गरेको कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले सहरको विकासमा सामाजिक संस्थाको भूमिका महत्वपूर्ण रहेको बताए । उनले सामाजिक संस्थाले सरकारको कामकारबाही प्रति पैरवी गर्दै विकासका अवधारणाहरुलाई सुचारु गर्न सहयोग गरेको अभिव्यक्ति दिए ।

‘सहर विकासमा सामाजिक संस्थाको भूमिका महत्वपूर्ण छ । पूर्वाधार विकास देखि सामाजिक एवम् सांस्कृतिक विकासमा सामाजिक संस्थाहरुले उल्लेखनिय काम गरिरहेका छन् । सामाजिक संस्थाहरु पारदर्शी तरिकाले संचालन भई सरकारका कामकारबाहीहरुमा समेत सहयोग गर्ने हेतुले अगाडि बढ्नुपर्ने आवश्यकता आजको हो ।’, उनले भने ।
विकासको पथमा सामाजिक संस्थाहरु सँगै प्रदेश सरकार पनि रहेको भनाई उनको छ । प्रदेश सरकार पनि सामाजिक संस्थाहरुसँगै सहकार्य गरेर अगाडि बढिरहेको जानकारी उनले गराएका छन् । कतिपय सामाजिक संस्थाहरु काम भन्दा पनि कुरा बढी गर्ने खालको भएको उल्लेख गर्दै नियमन गरी कारबाहीको दायरामा पनि ल्याउनुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।

सामाजिक संस्था बिना विकास सम्भव नभएको बताउँदै पूर्वाधार सँगै सोचमा समेत परिवर्तन राखी अगाडि बढ्न उनको सुझाव छ ।
प्रतिनिधि सभा सांसद विद्या भट्टराईले सहर निर्माणमा सबै नागरिकको दायित्व बराबरी हुने बताइन् । उनले पोखराको विकास आजसम्म काठमाडौंलाई हेरेर गरिएको र अब आवश्यकता मौलिकताको रहेको उल्लेख गरिन् ।
‘सहरको विकासका हर नागरिकको जिम्मेबारी उत्तिकै हुन्छ । पोखराको विकास आजसम्म काठमाडौंलाई हेरेर गरिएको थियो । अब मौलिकताको खाँचो छ । भौतिक विकास देखि समावेशी विकासको अवधारणालाई आत्मसात् गर्दै अगाडि बढ्न सके मात्र समृद्धि हासिल गर्न सकिन्छ ।’, उनले भनिन् ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले शंकरराज पाठक लगायतका व्यक्तित्वले पोखराको संरचनाको विषयमा नसोचेको भए अहिलेको पोखरा नहुने बताए । उनले पोखराको विकासमा महानगर सामाजिक संस्थाहरुसँगै मिलेर काम गर्न तयार रहेको अभिव्यक्ति दिए । सांस्कृति, प्राकृतिक रुपमा पोखरा धनी भएता पनि प्रस्तुती राम्रो नहुँदा पोखरा पछाडी पर्नुपरेको भनाई उनको छ । जसका लागि सामाजिक संस्थाहरुले समेत पहलकदमी गर्न आवश्यक रहेको उनले बताए ।
पर्यटनविद कर्ण शाक्यले सहरको विकास पूर्वाधारले मात्र नहुने र सोचमा परिवर्तनको आवश्यकता रहेको प्रति इंकित गरे । पोखराको प्राकृतिक अवस्थाको बरण गर्दै शाक्यले हाम्रो सोच्ने शैलीमा नै परिवर्तनको आवश्यकता रहेको उल्लेख गरे । सहरको गरिबको सोचका कारण विकासमा फितलोपन आएको अभिव्यक्ति उनको थियो ।
रोटरी क्लबका डिस्ट्रीक गर्भनर जितेन्द्र राज भण्डारीले रोटरी क्लब एक अन्तराष्ट्रिय संस्था भएको बताए । उनले क्लबले स्वास्थ्य र शिक्षाको क्षेत्रमा महत्वपूर्ण काम गरेको उल्लेख गरे । कार्यक्रम रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष गीता सिग्देलको अध्यक्षतामा भएको थियो भने स्वागत मन्तव्य पूर्व अध्यक्ष सुभाष सिग्देलले राखेका थिए । कार्यक्रममा सहभागीले पोखराको समग्र विकासका लागि प्रश्न एवम् सुझाव प्रस्तुत गरेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला