पूर्ण स्मृति सम्मान तथा पुरस्कारः पत्रकारितामा विश्वबन्धु, साहित्यमा शेषमणि र समाजसेवामा भक्त बहादुर सम्मानित हुने

नगेन न्यूज
  • ख-
  • ख+

दुलेगौंडा, ३ पुष ।
तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जका अध्यक्ष पूर्ण कुमार श्रेष्ठको स्मृतिमा स्थापित पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. सम्मान तथा पुरस्कारकालागि सम्मानित व्यक्ति छनौट गरिएको छ ।
पहिलो पटक प्रदान गर्न लागिएको सम्मानमा पत्रकारितातर्फ अग्रज पत्रकार विश्वबन्धु भण्डारी, साहित्यतर्फ शेषमणि आचार्य र समाजसेवातर्फ भक्त बहादुर रिमाल छनौट भएका छन् ।
पत्रकारिता र साहित्यतर्फ पुरस्कारको राशी नगद १०÷१० हजार, प्रमाण पत्र र पूर्ण स्मृति सामाजिक सेवा पुरस्कार तथा सम्मानतर्फ नगद ५ हजार र प्रमाणपत्र रहेको छ ।

तनहुँ जिल्ला भित्र क्रियाशिल रहेका मध्य एक जना उत्कृष्ट पत्रकारिता क्षेत्रमा लागेका व्यक्ति, तनहुँ जिल्लामा साहित्यिक क्षेत्रमा सक्रिय रहेका व्यक्ति र शुक्लागण्डकी नगर क्षेत्रमा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिबाट छनौट गरिएको हो ।
सम्मानित हुन लागेका अग्रज पत्रकार भण्डारी ४ दशकदेखि पत्रकारितामा क्रियाशिल छन् । दमौलीबाट प्रकाशित हुने भञ्ज्याङ दैनिकको संस्थापक सम्पादक भण्डारीले सम्पादकीय संग्रह भाग १ र २ प्रकाशन गरेका छन् ।
स्याङ्जाको हरिनाश–२ खहरेमा जन्मिएका भण्डारी हाल भिमादमा बस्दै आएका छन् ।

यसैगरी साहित्यतर्फ सम्मानित हुन लागेका ७३ वर्षिय आचार्य वि.स. २०२२ सालदेखि साहित्यका विभिन्न विधामा कलम चलाउन थालेका हुन् । शुक्ला साहित्य संगमका संस्थापक एवम् संरक्षक रहेका उनका आधी दर्जन कविता संग्रह र कृति प्रकाशित छन् ।
लमजुङको मध्यनेपाल नगरपालिकामा जन्मिएका आचार्य दुलेगौंडामा बस्दै आएका छन् । यस्तै समासेवातर्फ छनौट भएका ७७ वर्षिय रिमालले यस क्षेत्रका विभिन्न सामाजिक संघसंस्थामा क्रियाशिल रहि नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।
स्व. श्रेष्ठ सञ्चार व्यवसायसँगै, समाजसेवा र साहित्य क्षेत्रमा समेत सक्रिय रहेकाले ३ विधा छनौट गरिएको हो । रेडियोका पूर्व अध्यक्ष नारायण कुमार श्रेष्ठको संयोजकत्वमा शनिवार बसेको बैठकले पुरस्कृत व्यक्ति छनौट गरेको हो । छनौट समिति सदस्यहरुमा रेडियोका अध्यक्ष ज्योती श्रेष्ठ, सदस्य टिकाराम श्रेष्ठ र सल्लाहकार आनन्द सुन्दर श्रेष्ठ रहेका थिए ।
रेडियोका शेयरधनी सदस्य, शुभेच्छुकबाट स्वतस्फूर्त र केहि रकम उहाँको परिवारबाट जम्मा गरि ३ लाख रुपैयाको अक्षयकोष स्थापना गरिएको हो । सोहि रकमको ब्याजबाट प्राप्त आम्दानीले प्रत्येक वर्ष ३ विधामा क्रियाशिल व्यक्तिहरुलाई पुरस्कार प्रदान गरिने रेडियोले जनाएको छ ।
रेडियोको सातौं वार्षिक साधारणसभा एवम् पाँचौ अधिवेशनको अवसरमा सोमवार दुलेगौंडामा आयोजना हुने विशेष कार्यक्रममा प्रदेशभा सदस्य श्यामराजा महतले सम्मान गर्ने कार्यक्रम रहेको सचिव ऋषेश्वर भुवाई ऋतुले जानकारी दिए ।
रेडियोको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका पूर्णको २०७८ जेठ १२ गते हृदयघातका कारण ४८ वर्षको उमेरमा निधन भएको थियो ।
सोहि अवसरमा रेडियोले प्रत्येक वर्ष उत्कृष्टस्रोता र विज्ञापनदातालाई सम्मान गर्ने कार्यक्रम राखिएको प्रसारण समिति संयोजक टिकाराम श्रेष्ठले जानकारी दिए ।

६ वर्षअघि स्थापित रेडियोमा गीत संगीतको अलवा हाल दैनिक ७ पटक आफ्नै उत्पादनमा समाचार, स्थानीय सराकोरका विषयमा छलफल, महिला, बालबालिका, स्वास्थ्य, शिक्षा, व्यवसाय लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको स्टेसन मेनेजर राजन उपाध्यायले जानकारी दिए । शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडाबाट प्रसारण भइरहेको रेडियो तनहुँ, कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोरखा, नवलपरासी लगायतका जिल्लामा सुन्न सकिन्छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला