सबल समाज निर्माणमा फूलबारी क्लबको भूमिका महत्वपूर्ण : मन्त्री थापा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले सबल समाज निर्माणमा फूलबारी क्लबको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । शनिबार पोखरा ११ स्थित क्लबको प्राङ्गणमा आयोजित ३१ औं वार्षिकोत्सव एवम् साधारण सभा कार्यक्रमलाई उद्घाटन गर्दै मन्त्री थापाले यस्तो बताउनुभएको हो ।
‘सक्षम र सबल समाज निर्माणमा फूलबारी क्लबको भूमिका महत्वपूर्ण छ । सामाजिक विकृति र विसंगतिका विरुद्धमा क्लबले गरेका कार्यको म प्रशंसा गर्दछु ।’, उहाँले भन्नुभयो । उहाँले पछिल्लो समय युवाहरु दुव्र्यसनीको शिकार भइरहेको र यसलाई न्यूनिकरणमा क्लबहरुले विशेष चासो राख्नुपर्ने आवश्यकतालाई औंल्याउनुभएको छ ।
मन्त्री थापाले अन्य क्षेत्रका लागि पनि फूलबारी क्लब उदाहरणीय बन्दै गएको बताउनुभयो । पोखरा ११ मा नै स्थापना गरिएको फूलबारी संस्कार सदनको समेत उद्घाटन गर्दै मन्त्री थापाले सदनका कारण फूलबारीमा स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने जनताहरुलाई लाभ मिल्ने विश्वास लिनुभएको छ ।
ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापनाका लागि आफ्नो र प्रदेश सरकारको सहयोग रहने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभएको छ ।‘क्लबको दुखसुखमा साथमा छु । शिक्षा, स्वास्थ्य, साहित्य, सरसफाई, खेलकुद, वृक्षारोपण साथै सामाजिक सचेतना जगाउने काममा क्लबले गरेको कामको प्रशंसा गर्दछु । ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको स्थापनाका लागि मेरो साथ समर्थन रहनेछ ।’, उहाँले भन्नुभयो ।
पोखरा महानगरपालिका वडा नं ११ का अध्यक्ष प्रेम प्रसाद कर्माचार्यले वडाबाट हुन सक्ने सहयोग क्लबलाई गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आफु भर्खरै मात्र आएको र सबैको सल्लाह, सुझावका आधारमा अगाडि बढ्ने बताउनुभयो ।
पोखरा ११ का निवर्तमान वडाध्यक्ष मोहन प्रसाद बास्तोलाले क्लबले गरेका कामबाट जनताले प्रत्यक्ष रुपमा लाभ लिन पाएको बताउनुभयो ।
क्लबका पूर्व अध्यक्ष माधव प्रसाद बास्तोला ‘मधु’ ले युवा शक्तिलाई अनुशासन, व्यवसायिक र सेवा प्रतिको भावना जगाउन क्लबको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्नुभयो ।
कार्यक्रममा सचिव जनार्दन बास्तोलाले सचिवको प्रतिवेदन पेश गर्नुभएको थियो । क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन र सामाजिक क्षेत्रमा गत आर्थिक वर्षमा पनि उल्लेखिय काम गरेको उहाँले बताउनुभयो । कोषाध्यक्ष गणेश बहादुर कार्कीले क्लबले आर्थिक वर्ष २०७८ र ०७९ मा १५ लाख १२ हजार २ सय ५६ रुपैयाँ १५ पैसा आम्दानी गरेको र ११ लाख ३१ हजार २ सय ५४ रुपैयाँ ४३ पैसा खर्च गरेको विवरण पेश गर्नुभयो । कार्यक्रमको समापन क्लबका अध्यक्ष हरिशचन्द्र बास्तोलाको अध्यक्षतामा भएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला