श्री कृष्ण प्रणामी मन्दिरमा श्रीकृष्ण जन्माष्टमी प्राकट्य महोत्सव

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, ४ भदौ ।

कृष्णजन्माष्टमीको अवसरमा पोखरा – ८ रत्नचोकस्थित श्री कृष्ण प्रणामी मन्दिरमा शुक्रबार श्रीकृष्ण जन्माष्टमी प्राकट्य महोत्सव गरिएको छ । कार्यक्रममा झण्डै पाँच हजार श्रद्वालु भक्तजनको सहभागिता रहेको थियो । महोत्सवमा राति १२ बजेसम्म विभिन्न झाँकि, भजन तथा नृत्य प्रदर्शन गरिएको थियो ।

मन्दिरमा साउन २ गतेदेखि आयोजित श्रीमद् बितक चर्चा शब्द दर्शन तथा श्रीकृष्ण कथा कार्यक्रम पनि सम्पन्न भएको छ । झण्डै १० हजार भक्तजनले कथा श्रवण गर्नुभएको जनाइएको छ ।

मन्दिर स्थापनाकाल २०४८ सालदेखि नै वर्षेनी कार्यक्रम गर्ने गरिएको छ । यसपटक समेत गरी ३१ औ पटक कार्यक्रम गरिएको हो। महोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले समाज परिवर्तनको अभियान हरेकले आफैबाट र आफ्नै घर भित्रबाट शुरु गर्नुपर्ने बताउनुभयो । उहाँले सामाजिक विकृति विसंगति अन्त्यका लागि सबै एकजुट हुनुपर्ने औल्याउनुभयो ।

मन्त्री श्रेष्ठले शिक्षालाई उत्पादनसँग जोडेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । संस्कार, भाषा, संस्कृति र परम्परालाई जोडेर पोखरामा धार्मिक पर्यटनको विकास गर्न सकिने उहाँको भनाइ थियो । उहाँले भगवान् श्रीकृष्णका उपदेशलाई अनुशरण गर्नुपर्ने बताउनुभयो ।

गुरुजी बाणी तथा बितक कथाकार युवा धर्म प्रचारक श्री श्यामदास महाराजले हरेक व्यक्ति धर्मसँग जोडिनुपर्ने बताउनुभयो ।

त्यस अवसरमा पोखरा महानगरपालिका वडा नं ७ का वडाध्यक्ष राममोहन आचार्य, पोखरा विश्व विद्यालयका डिन डा. दयाराज ढकाल, पूर्व वडाध्यक्ष रामचन्द्र बराल, समाजसेवी बामदेव बस्ताकोटी, ईन्जिनियर नेत्र तिमिल्सिना, भागवत्चार्य माता नारायणी घिमिरे लगायतले बोल्नुभएको थियो ।

मन्दिरका अध्यक्ष पुरुषोत्तम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मोहन प्रसाद ढकालले स्वागत र सचिव देवी प्रसाद खतिवडाले संचालन गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला