अहिले नै एआईले १९ औँ शताब्दीको शैलीमा पोट्रेट, चित्र र भिडियो बनाउने

नगेन न्यूज
  • ख-
  • ख+

तपाईंले १९ औँ शताब्दीको शैलीमा एउटा पोट्रेट बनाऊ भनेर आदेश दिनुभए लगत्तै माथिको चित्र बन्ने हो । यो आर्टिफिसियल इन्टेलिजेन्सले बनाएको चित्र हो । यसलाई टेक्स्ट टु पिक्चर पनि भनिन्छ । कसैले नबनाएको फिल्म हेर्न मन छ भने आफैँले बनाउनू भन्ने कथन अब वास्तविकतामा परिणत हुने सम्भावना बढेर गएको छ ।

पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बुद्धिमता यति बढेको छ कि तपाईंले उसलाई शब्दमा कुनै आदेश दिनुभयो भने उसले तस्बिर वा भिडियोमा व्याख्या गर्नुभएको दृश्य खिचेर दिनेछ । यस किसिमको प्रविधि अहिले केही महँगो भए पनि भविष्यमा यति सस्तो हुनेछ कि तपाईंले घरैमा आफ्नो कम्प्युटरलाई दिएको आदेशका आधारमा भिडियो क्लिपहरूको शृंखला तयार पारी आफैँले फिल्म बनाउन सक्नुहुन्छ । यस कार्यका लागि फेसबुकको मेटा कम्पनीले मेक अ भिडियो भन्ने सफ्टवेयर तयार पारिरहेको छ । यस्तै गुगलले पनि इमाजेन भिडियो बनाइरहेको छ । यसले अबका केही वर्षभित्रै सिर्जनशील कार्य-व्यापारमा ठूलो परिवर्तन आउने देखिएको छ ।

यसको भविष्य देखिरहेको माइक्रोसफ्ट पनि किन पछि परोस् ? उसले पनि डेल इ २ नामक एउटा नमुना सफ्टवेयर निर्माण गरेको छ र यो माइक्रोसफ्ट अफिसमै उपलब्ध हुनेछ । यो त भयो ठूला कम्पनीका कथा, साना कम्पनी पनि यसमा कम देखिएका छैनन् । साना कम्पनीहरूले ओपन सोर्स प्रयोग गर्दै यस्तो कार्यलाई गति दिइरहेका छन् । तीमध्ये पनि बेलायतको लन्डनस्थित स्टाबिलिटी एआई नामक कम्पनीले बनाएको स्टेबल डिफ्युजन सफ्टवेयरले आउँदा दिनमा तहल्का मच्चाउने केहीको दाबी छ ।

प्रायः फेसबुकको मेटा, गुगलको अल्फाबेट र माइक्रोसफ्टजस्ता कम्पनीले एक किसिमको बन्द सफ्टवेयर बनाउने गरेका छन् । पूरापूर सफ्टवेयर तयार भएपछि उनीहरूले बजारमा लैजाने गर्छन् तर स्टेबल डिफ्युजनको सफ्टवेयर भने खुला छ । यसलाई सित्तैमा प्रयोग गर्न सकिन्छ र यस्ता सफ्टवेयर जति बढी मानिसले सित्तैमा प्रयोग गर्न थाल्छन्, यसको स्तरीकरण अझ बढ्दै जान्छ । यसले सफ्टवेयरमा भएका कमीकमजोरी घट्दै जान्छन् ।

अहिलेलाई तपाईंले एआईले बनाउने कुनै पनि भिडियोलाई पाँच सेकेन्डभन्दा बढी बनाउन सक्नुहुन्न । त्यसको स्तर पनि मोबाइलमा हेर्न मिल्ने वा ठीकै गुणस्तरको भिडियो हुनेछ । अनि, यिनलाई दिइएका आदेश (इन्स्ट्रक्सन) एआईले नबुझेर अर्कै तस्बिर वा भिडियो बन्ने सम्भावना पनि हुन्छ वा त्यो भिडियो सोचेजस्तो नहुन पनि सक्छ तर यो शुरूवात मात्र हो भन्ने बुझ्न जरूरी छ ।

त्यसो त यसरी बनेका भिडियो भने इन्टरनेटको सञ्जालमा पहिल्यै तयार पारिएका भिडियोको सूचनाबाट तयार पारिने हुनाले यसमा धेरै अस्पष्टता, दुविधा, कहिलेकाहीँ गलत, नैतिक रूपमा अमिल्दो र अन्य धेरै कुराहरू हुनसक्ने फेसबुकको एआईमा काम गरिरहेका देवी पारिखको धारणा छ । यसमा कार्नेगी काउन्सिल अफ इथिक्स इन् इन्टरनेसनल अफेयर्सका प्रमुख आर्थर हल्यान्ड माइकल पनि समहमत छन् ।

तर अबका केही वर्षहरूमा त्यस्ता भिडियो बन्ने, बनाउने र सस्तो मोडल बजारमा छाउने सम्भावनालाई नकार्न सकिँदैन । यस्तो अवस्थामा केही सेकेन्डमा नै कसैको छवि धुमिल्याउन कुनै आइतबार कुर्नुपर्ने छैन । यस्तोमा सचेत हुनुपर्ने भने देखिँदै गएको छ ।

एआईले बनाउने भिडियोका लागि तपाईं प्रविधिमा पोख्त भइरहनु पर्दैन । मात्र तपाईंले लेखेका आदेश सही हुनुपर्छ । त्यो सही भयो भने तपाईंको भिडियो हेर्दैको आकर्षक र विश्वसनीय हुनेछ ।

मानौँ, भोलिका दिनमा भिडियोको गलत उपयोगविरूद्ध कडा कानुन बन्यो, मानिसले त्यस्ता भिडियो बनाएनन् रे तर मान्छेलाई व्यंग्य कस्न कुनै कसर छाड्दैन । सन् २०१९ ताका अमेरिकी सिनेटर न्यान्सी पेलोसी लर्खराउँदा उनको सो भिडियोलाई रक्सी खाएर लर्खराएकी भनी बहुप्रचारित गरियो । त्यो बेला उनले रक्सी खाएकी थिइनन् । मात्र लडखडाएकी थिइन् तर सो भिडियो भाइरल बन्न पुग्यो । यस्ता भिडियोलाई बिनासित्तीमा भाइरल बनाइन्छ वा बन्न पुग्छ । यसलाई रोक्ने कुनै उपाय नै छैन । यसका लागि बस्, सर्वसाधारण आफैँ सचेत हुनुपर्छ ।

एआईले बनाएका भिडियोहरू जसलाई टेक्स्ट टु भिडियो पनि भनिन्छ, यिनले सिर्जनशील संसारमा भने आनका तान परिवर्तन ल्याउने सम्भावना छ । सँगैमा यसले कपिराइटको संसारमा धेरै झमेला पनि भित्र्याउने आशंका यसै बारेमा वकालत गरिरहेका गोलिङ डब्लुएलजी नामक संस्थाका प्रमुख म्याट हर्भेको धारणा छ ।

पछिल्लो समय च्याटजेपिटीमा देखिएको चासो, जिज्ञासा र छलफलले भविष्यको संसार भनेको एआईद्वारा निर्मित हुने भिडियो कस्तो होला भन्ने एउटा बाटो पनि देखाएको छ । अबको भिडियोको संसार परिवर्तन हुने पूरापूर सम्भावना देखिएको छ । सामन्यतया: एआईले मानवीय विद्वतासँग जोडिएका निम्नमध्ये कमसेकम केही व्यवहारहरु देखाउने गर्छ: योजना तर्जुमा, सिकाइ, तर्क क्षमता, समस्या समाधान, ज्ञानको प्रतिनिधित्व, दृष्टिकोण, चाल तथा छेडछाड र केही मात्रामा सामाजिक विद्वता तथा सिर्जनशीलता।

एलेक्स विल्किन्सको रिपोर्ट, न्यु साइन्टिस्टबाट साभार

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला