
पोखरा, भदौ १६ । १७औं अन्तर्राष्ट्रिय गिद्ध दिवसका अवसरमा नेपालमा पनि सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रमको थालनी गरिएको छ ।
प्रत्येक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार मनाइने गिद्ध दिवसको अवसरमा नेपाल पक्षी संरक्षण सङ्घ (विसिएन) को अगुवाइमा सोमबार (आज)देखि सप्ताहव्यापी कार्यक्रमको थालनी गरिएको हो ।
विसिएनका अनुसार यस कार्यक्रम अन्तर्गत असोज २२ गतेसम्म विभिन्न प्रदेशमा सचेतनामूलक गोष्ठी, विद्यालयस्तरीय तालिम, प्रचार–प्रसार कार्यक्रम, प्रदर्शनी, र सुदूरपश्चिम प्रदेशमा गिद्ध गणनासहितका गतिविधि सञ्चालन हुने जनाएको छ ।
गिद्धलाई वातावरणको अनिवार्य कुचिकार वा सफाइदार पनि मानिन्छ ।
विषेशगरी गिद्ध यस्तो प्रकारको चरा हो जसले आफै सिकार नगरी मरेका जनावरको सिनोमा निर्भर रहन्छ जसकारण वातावरणलाई प्रदूषित हुनबाट जोगाउन मद्दत गर्छ । जसले गर्दा हैजा, आउँ, झाडापखाला, प्लेगजस्ता महामारी फैलिन नदिन गिद्धको महत्त्वपूर्ण योगदान रहेको हुन्छ । तर पछिल्लो समय किसानले सिनोमा विष प्रयोग गर्ने, ठूला रुख फँडानी गर्ने, विद्युत्त तारमा ठोक्किनेदेखि पशुपालनमा कमी आउनुले गिद्धको अस्तित्व संकटमा रहेको विज्ञहरूले बताएका छन् ।
विसिएनका अनुसार यसपटकको सप्ताहव्यापी कार्यक्रमले विशेष गरी ग्रामीण क्षेत्रका किसान, विद्यार्थी र सामुदायिक वन उपभोक्ताहरूलाई गिद्धको महत्वबारे जानकारी फैलाउनेछ ।
संगठनले गिद्धमैत्री पशुपालन अभ्यास, सुरक्षित सिनो व्यवस्थापन र गिद्ध संरक्षण क्षेत्रमा सामुदायिक सहभागिता बढाउने उद्देश्य राखेको जनाएको छ ।
नेपालमा नौ प्रजातिका गिद्ध पाइन्छन् । तीमध्ये डङ्गर गिद्ध, सानो खैरो गिद्ध र सुन गिद्धलाई ‘अति सङ्कटापन्न’ प्रजातिको सूचीमा राखिएको छ भने गोब्रे गिद्ध ‘दुर्लभ’ अवस्थामा सूचीकृत छ ।
राज गिद्ध र खैरो गिद्ध प्रायः हिउँदयाममा पाहुनाका रूपमा नेपाल भित्रिने गर्छन् ।
यस्तै हिमाली गिद्ध भने नेपालको रैथाने प्रजातिका रूपमा कायम नै छ ।