भदौ २० गतेदेखि ‘रिमै’ प्रदर्शन : गुरुङ संस्कृतिको कथा पर्दामा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । नेपाली सिनेमामा सांस्कृतिक मौलिकता र आदिवासी समुदायको जीवनशैलीलाई केन्द्रमा राखेर निर्माण भएको चलचित्र ‘रिमै’ आगामी भदौ २० गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ ।
दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र माओत्से गुरुङको मुख्य अभिनय रहेको यस सिनेमाले गुरुङ समाजको जीवन, संस्कार र भावनालाई पर्दामा उतार्ने प्रयास गरेको बताइएको हो ।

सिनेमाको प्रदर्शनपूर्व शुक्रबार चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा कलाकार तथा निर्माण पक्षले ‘रिमै’ सम्बन्धी जानकारी गराएका छन् ।
कार्यक्रममा कलाकार रिश्मा गुरुङ, माओत्से गुरुङ, डिबी गुरुङ, कार्यकारी निर्माता बिरबल घलेको उपस्थिति थियो ।

पत्रकार सम्मेलनमा कलाकार माओत्से गुरुङले रिमै आदिवासी कथाको प्रतिनिधित्व गर्ने चलचित्र भएको उल्लेख गर्नुभयो । मेकरहरूको बदलिँदो सोच र दर्शकले मौलिक कथामा देखाएको रुचिले गर्दा यस्तो विषयवस्तु उठाउन सम्भव भएको भनाई उहाँको छ । ‘रिमै’ भन्ने शब्द गुरुङ भाषामा छोरीचेलीलाई सम्बोधन गर्ने अर्थमा प्रयोग गरिने उहाँले प्रष्टाउनुभयो । उक्त सिनेमामा आफु एक कठोर बुबाको भूमिकामा देखिएको उहाँले बताउनुभयो ।

चलचित्रकी मुख्यपात्र नायिका रिश्मा गुरुङले रिमै आफ्ना लागि विशेष रहेको बताउनुभयो । “ रिमै मेरो लागि विशेष फिल्म हो। पहिलो अफर आउँदा नगर्ने सोच थियो, अमेरिकामा भएकाले सम्भव भएन। अहिले भने परिस्थिती मिलेकाले पहिलो पटक ठूलो पर्दामा गुरुङ संस्कारलाई उतार्न पाएको छु। अपेक्षा भएर नै यो सिनेमा गरेकी हुँ।”, उहाँले भन्नुभयो ।
कबड्डी पछि लामो समय सिनेमामा नदेखिएता पनि आफु उक्त क्षेत्रबाट बाहिर भने नभएको उनले उल्लेख गर्नुभयो । कार्यव्यस्तता र अध्ययनका कारण विश्राम लिएको र अब राम्रो स्क्रिप्ट र टीम भएमा निरन्तरता दिँदै जाने भनाई उहाँको छ ।
सिनेमा क्षेत्रमा सुरुवाती पलमा उत्साह धेरै भएता पनि समयक्रम अनुसार घट्दै जाने उनले बताउनुभयो । “सुरुवाती पलमा उत्साह धेरै हुन्छ। पछि–पछि कम्प्रोमाइजका कुरा आउँछन्।”, उहाँले भन्नुभयो । रिमैको कथावस्तु दर्शकलाई मन पर्नेमा उनि आशावादी हुनुहुन्छ ।
कलाकार डिबी गुरुङले सिनेमाले गुरुङ समाजको मात्र नभई सम्पूर्ण नेपाली जीवनशैलीलाई प्रतिबिम्बित गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार, “रिमै नेपाली सिनेमामा मौलिकताको खोजी हो, जसले हरेक दर्शकलाई आफ्नोपनाको भाव दिनेछ।”
कार्यकारी निर्माता बिरबल घलेले रिमै मौलिक कथा, मौलिक संस्कृति र मौलिक अभिनयको संगम भएको उल्लेख गर्नुभयो । करिब ३ करोड लगानीमा निर्माण भएको उक्त सिनेमाले नेपाली फिल्म क्षेत्रमा फरक स्वाद थप्ने विश्वास उहाँको छ । ‘रिमै’ को छायांकन मुख्यतया गुरुङ बस्ती र पहाडी गाउँघरमा गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार यसले ग्रामीण जीवनशैली, संस्कार र संस्कृतिलाई नजिकबाट चित्रण गर्ने प्रयास गरेको छ । सिनेमामा सांगीतिक पक्षलाई पनि विशेष महत्व दिइएको र गुरुङ समुदायको मौलिक धुन र ताललाई समेटिएको उहाँले बताउनुभयो ।
उपेन्द्र सुब्बाको कथा र खील बहादुर गुरुङको निर्देशनमा बनेको उक्त चलचित्रप्रति निर्माण पक्ष मात्र नभई कलाकारहरू पनि आशावादी देखिएका छन् ।
दर्शकले मौलिक संस्कृतिको स्वाद लिन पाउने भएकाले ‘रिमै’ नेपाली सिनेमामा फरक अध्याय बन्ने अपेक्षा गरिएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला