पोखरा, फागुन ६ । चितवनको सौराहामा सम्पन्न लोम लिडर्स एकेडेमी कार्यक्रममा पोखरा जेसीज सम्मानित भएको छ । फागुन १ र २ गते सम्पन्न उक्त कार्यक्रममा पोखरा जेसीजले उल्लेखनीय उपस्थिति र उत्कृष्ट कार्यसम्पादन गर्दै राष्ट्रिय स्तरमै आफ्नो नेतृत्व क्षमता र सक्रियता प्रमाणित गरेको भन्दै सम्मानित भएको हो ।
पोखरा जेसीजले वर्षभरी सञ्चालन गरेका सिर्जनात्मक कार्यक्रम, नेतृत्व विकासका लागि गरेको पहल, सामाजिक उत्तरदायित्वप्रति देखाएको प्रतिबद्धता तथा संस्थागत सुदृढीकरणमा गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै दुई वटा अवार्ड प्रदान प्राप्त गरेको पोखरा जेसि आईका महासचिव जेसी संजय पौडेलले जानकारी दिनुभयो ।
ती अवार्डहरुमा संकल्प सफलता अवार्ड र संकल्प कमिटमेन्ट अवार्ड रहेका छन्। यी अवार्डहरूले पोखरा जेसीजको निरन्तर सक्रियता, परिणाममुखी कार्यशैली र नेतृत्वप्रति दृढ संकल्पलाई राष्ट्रिय स्तरमा सम्मानित गरेको हो ।
उक्त प्रतिष्ठित नेतृत्व विकासमूलक कार्यक्रममा पोखरा जेसीजका अध्यक्ष जेसी सुमन पहारी, महासचिव जेसी सञ्जय पौडेल तथा कोषाध्यक्ष जेसी राजकुमार बोहराको सक्रिय, प्रभावकारी र प्रेरणादायी सहभागिताले संस्थाको गरिमा थप उच्च बनाएको यसका सदस्यहरूले बताएका छन् ।
यो उपलब्धिले पोखरा जेसीजको संस्थागत क्षमता, नेतृत्व विकासप्रतिको प्रतिबद्धता तथा समाजमा सकारात्मक परिवर्तन ल्याउने अभियानलाई थप ऊर्जा र प्रेरणा प्रदान गरेको संस्थाले जनाएको छ ।
संस्थाले यस ऐतिहासिक उपलब्धिका लागि सम्पूर्ण सदस्य, पूर्वअध्यक्ष, सल्लाहकार तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा अझ बढी उत्साह, जिम्मेवारी र समर्पणका साथ समाज र राष्ट्रको हितमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
विषेशगरी नेतृत्व विकास, संगठन व्यवस्थापन, लक्ष्य निर्धारण र प्रभावकारी कार्यान्वयन सम्बन्धी विभिन्न सत्रहरूमा पोखरा जेसीजका प्रतिनिधिहरूले देखाएको प्रतिबद्धता र प्रस्तुतीकरणले सहभागीहरू तथा आयोजकको विशेष ध्यान आकर्षित गरेको थियो ।
पोखरा जेसीजले प्राप्त गरेको यो दोहोरो राष्ट्रिय सम्मानले संस्थालाई नयाँ उचाइतर्फ अग्रसर गराउनुका साथै पोखराको युवा नेतृत्वलाई राष्ट्रिय स्तरमा स्थापित गर्न महत्वपूर्ण योगदान पुगेको विश्वास गरिएको छ ।
लोम लिडर्स एकेडेमी(२०२६ ले देशभरका जेसीज शाखाबीच नेतृत्व विकास, संगठन सुदृढीकरण र लक्ष्यप्रति प्रतिबद्धताको भावना अभिवृद्धि गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको सो कार्यक्रममा उपस्थित सहभागीहरूले बताएका छन् ।












