लमजुङ, २७ चैत । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको बताउनुभएको छ ।लमजुङ स्थित पर्यटकीय घलेगाउँको स्वर्गभूमि रंगशालामा युवा तथा खेलकुद समिति, क्वहोलासोथार गाउँपालिकाले आयोजना गरेको तेस्रो अध्यक्ष कप पुरुष तथा महिला फुटबल प्रतियोगितामा प्रमुख अतिथि भट्टले यस्तो बताउनुभएको हो ।
उहाँले खेल शारीरिक तथा मानसिक स्वास्थ्यको आधार मात्र नभएर कुटनीति, अर्थतन्त्र एवं सहकार्य र एकताको स्तम्भसमेत रहेको उल्लेख गर्नुभयो । “खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधार हो । खेलको विकासबाट राष्ट्रको सर्वाङ्गीणको ढोका खोल्न सकिन्छ ।” उहाँले भन्नुभयो – “नेपाल खेलकुदको माध्यमबाटसमेत चिनिँदै गएको छ । सशक्त र पूर्वाधार सम्पन्न मुलुकहरुलाई खेलकै माध्यमबाट पराजित गर्न सकेका छौँ ।”
प्रदेश प्रमुख भट्टले खेलकुदको सकारात्मक प्रभावले युवाहरूको शरीर र दिमाग दुवैको विकासमा योगदान पु¥याउने भएकाले यसको विकास र सम्वद्र्धन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो – “स्वस्थ शरीर नै एउटा मान्छेका लागि सुख र आनन्द हो । अनुशासित स्वस्थ शरीर र स्वस्थ मस्तिष्क भएको नागरिक उत्पादनमा खेलकुद सहयोग सिद्ध छ । स्वस्थ शरीर र निरोगी मस्तिष्कबाट नागरिकले सुन्दर भविष्यको रुपरेखा कोर्छन् । अनि मात्र मुलुक समृद्ध बन्दछ ।”
ग्रामीण घरबासका लागि प्रख्यात घलेगाउँमा पहिलो पटक उपस्थित हुन पाउँदा खुशी व्यक्त गर्दै उहाँले ऐतिहासिक र पर्यटकीय घलेगाउँ पहिलो स्मार्ट भिलेज, खुशी गाउँ र दक्षिण एशियाकै नमूना गाउँको रुपमा परिचित रहेको पनि बताउनुभयो ।
उहाँले थप्नुभयो – “लमजुङका धेरै गुरुङ गाउँहरु भुजुङ, पसगाउँ, काउलेपानी, राइनासकोट, घनपोखरा, खासुर, सिउरुङ, घेर्मु, तुर्लुङकोट, भुस्मेल लगायतका गाउँहरुले परिचित गराएका छन् । आन्तरिक तथा बाह्य पर्यटकलाई प्रवद्र्धन गर्दै समृद्ध मुलुक निर्माणमा यो जिल्लाले महत्वपूर्ण भूमिका खेल्ने मैले विश्वास लिएको छु ।”
कार्यक्रममा क्वहोलासोथार गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङ, उपाध्यक्ष गमीमाया गुरुङ, वडा नं. ३ का अध्यक्ष आसविर गुरुङ, युवा तथा खेलकुद विकास समितिका अध्यक्ष नौराज गुरुङ, प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्ले लगायतले बोल्नुभएको थियो ।
फुटबल प्रतियोगितामा पुरुषतर्फ गाउँपालिकाभित्रका ९ वटै वडाले सहभागिता जनाएका छन् । महिलातर्फ भने ७ वटा टीमले सहभागिता जनाएका युवा तथा खेलकुद विकास समिति क्व्होलासोथारका अध्यक्ष नौराज गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टीमलाई १ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । द्वितीय हुने टीमलाई ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । महिलातर्फ प्रथम हुने टीमलाई नगद ५० हजार रुपैयाँ र द्वितीय हुने टीमलाई नगद २५ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने खेलकुद विकास समिति, क्व्होलासोथारका सचिव दिलेश्वर गुरुङले जानकारी दिनुभयो । प्रतियोगिता चैत ३० गतेसम्म चल्नेछ ।














