पोखरा, चैत २७ । वर्तमान नेपाली समाजको यथार्थ, राजनीतिक विकृति र मानवीय संवेदनालाई समेटिएको नाटक ‘मसानघाट’ शुक्रबार आजबाट पोखरामा मञ्चन भइरहेको छ ।
वरिष्ठ साहित्यकार सरुभक्तद्वारा लिखित यस नाटकमा रङ्गकर्मी राजेन्द्र अधिकारी “अपूर्ण” को एकल अभिनय रहेको छ।
नाटकले एक मसानघाटका चौकीदारको आँखाबाट नेपालको बदलिँदो सामाजिक र राजनीतिक परिवेशलाई चित्रण गरिएको छ ।
नाटक ‘मसानघाट’ मा राजेन्द्र अधिकारीले एक मसानघाटका चौकीदारको भूमिकालाई जीवन्त रूपमा प्रस्तुत गर्नुभएको छ। मञ्चमा उहाँ एक्लैले आफ्नो बाल्यकालको साथी जो सरकारी हाकिमसँगको संवादमार्फत वर्तमान नेपालको राजनीतिक र सामाजिक अवस्थालाई चित्रण गरिएको छ ।
झन्डै ४५ मिनेट लामो एकल अभिनयका माध्यमबाट उहाँले दर्शकलाई विभिन्न विषयहरूमा गम्भीर चिन्तन गर्न बाध्य बनाउँनुहुन्छ ।
जस्तै वैदेशिक रोजगारीको पीडा, रुस-युक्रेन र इजरायल-हमास युद्धमा मारिएका र हराएका विपिन जोशी, नेपाली युवाहरूको कारुणिक कथा, राजनीतिक विकृति, देशमा व्याप्त भ्रष्टाचार, बेरोजगारी र बेथितिमाथि गरिएको कडा प्रहार, एक सामान्य नागरिकको चेतना कसरी र कुन परिस्थितिमा विद्रोहमा बदलिन्छ भन्ने मनोवैज्ञानिक चित्रण नाटकमा गरिएको छ ।
वरिष्ठ साहित्यकार सरुभक्तले यो एकल अभिनयले नेपाली रङ्गमञ्चमा एउटा नयाँ इँटा थप्ने विश्वास गर्दै एउटै पात्रले सिङ्गो देशको अवस्थालाई मसानघाटको पृष्ठभूमिमा उभिएर चित्रण गरेको बताउनुभयो।
नाटकको निर्देशन र मञ्च सज्जा समेत स्वयं राजेन्द्र अधिकारीले नै गर्नुभएको हो । उहाँलाई अडियो तथा भिजुअल डिजाइनमा जीतेश प्रधानले साथ दिनुभएको छ ।
मसानघाटको प्रतीकात्मक सेट, सटिक प्रकाश संयोजन र अधिकारीको ओजपूर्ण संवाद प्रवाहले नाटकलाई थप शक्तिशाली बनाएको छ।
“जिउँदाहरूसँग डराउनुपर्ने तर मरेकाहरूसँग होइन” भन्ने मूल भाव बोकेको यस नाटकले समाजको तीतो यथार्थलाई मञ्चबाटै ओकलेको छ।
सुनिता कपाली अधिकारीको निर्माण र पोखरा थिएटरमा मञ्चन भएको यस नाटक चैत २९ गतेसम्म मात्र मञ्चन हुने छ ।














