पोखरा, कार्तिक २३ गते । रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठानद्वारा आयोजित गायन र नृत्य प्रतियोगिताको कार्यक्रम ‘कास्की आइडल’ को पहिलो अडिसन सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै कवि तथा गीतकार रमेश श्रेष्ठले गीतले जीवनका आरोहअवरोहको चित्रण गर्ने भएकाले सबैलाई मन पर्ने वताउनुभयो । आफूले चित्रकला र कविता प्रतियोगितामा भाग लिएको समयको स्मरण गर्दै श्रेष्ठले यस्ता प्रतियोगिताले नवप्रतिभालाई प्रेरणा दिने अनुभव सुनाउनुभयो ।
रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा गीतकार प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले गीत र नृत्यका प्रतिभा खोजीका लागि दुई संस्था मिलेर कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । पोखरा क्षेत्रले नेपाली साहित्य र सङ्गीतमा पु¥याएको योगदानको स्मरण गर्दै अधिकारीले भावी दिनमा पनि यस्ता आइडलबाट पहिचान भएका प्रतिभाले यस क्षेत्रको गरिमा अझ उँचो बनाउने विश्वास व्यक्त गर्नुभयो ।
गायक झलक गुरुङले स्वागत मन्तव्य राख्दै कार्यक्रमको रूपरेखाबारे प्रकाश पारेका कार्यक्रममा रूपा वाङ्मय प्रतिष्ठानका सचिव मदन घिमिरेले शुभकामना दिनुभएको थियो । सो अवसरमा अनिल ढुङ्गानाले आफ्नो साङ्गीतिक प्रस्तुति राख्नुभएको थियो । उद्घाटन कार्यक्रमको सञ्चालन गीतकार प्रतिष्ठानका सचिव रुपिन्द्र प्रभावीले गर्नुभएको थियो ।
शनिवार पोखरा–२७, तालचोकमा भएको अडिसनबाट गायनतर्फ २० र नृत्यतर्फ १५ जना दोस्रो चरणका लागि छनोट भएका छन् ।
छनोट भएका प्रतिभाहरूको प्रतिस्पर्धा क्रमशः गराउँदै फाइनल चरणमा टप ५ छनोट गरिने रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेलले जानकारी दिनुभयो ।
प्रतियोगिताका निर्णायकहरूमा गायनतर्फ खेम लामा र कृष्णमाया तिवारी तथा नृत्यतर्फ उपेन्द्र गुरुङ र समृद्धि पाण्डे रहेका थिए ।














