
बागलुङ । रण स्मृति पुरस्कार संस्थाले आफ्नो ३३ औं वार्षिकोत्सवको अवसरमा साहित्यकार सरस्वती श्रेष्ठ सरुलाई शक्ति पुरस्कार २०८२ अर्पण गरेको छ ।
पुरस्कारको राशि रु दश हजार , दोसल्ला र सम्मान पत्र रहेको छ ।
वरिष्ठ साहित्यकार काजी रोशनले व्यानर पढेर कार्यक्रमको समुद्घाटन गर्दै स्व रणबहादुर खड्का र स्व शक्तिबहादुर खड्काको तस्बिरमा माल्यार्पण गर्नु भएको थियो ।
कार्यक्रममा साहित्यकार रोशनले नेपाली साहित्य क्षेत्र विशेष गरी कविता विधामा कवि सरस्वती श्रेष्ठ सरुको योगदान उल्लेखनिय रहेको भन्दै उहाँको साहित्यिक सृजना र प्रतिभाको उच्च मूल्याङ्कन गर्दै उहाँलाई पुरस्कृत गरिएको बताउनुभयो ।
मध्यनेपाल न पा ३ सोतीपसल ,लमजुङमा जन्मिएर पोखरालाई कर्मथलो बनाएर चालिसको दशकदेखि नेपाली साहित्यमा निरन्तर लागिरहेको सरुको “ थुङ्गा थुङ्गा जिन्दगानी ’’ (गीत सङ्ग्रह), “एक झुल्को घाम ओर्लेर सडकमा’’ ( कविता सङ्ग्रह) , “ फूलहरुको आँधी ’’ (कविता सङ्ग्रह) , “ किट्टी ’’ (बालकथा सङ्ग्रह) प्रकाशित रहेका छन् ।
त्यसैगरी कवि सरस्वती श्रेष्ठ सरुले नवकविता प्रतिभा पुरस्कार ( २०५३),समता सम्मान , इलाम ( २०५४), गजल प्रतिभा सम्मान ( २०६३), धादिङ साहित्य समाज सम्मान ( २०६४), नवनीत साहित्य सम्मान ( २०६५),जनकल्याण स्रष्टा सम्मान ( २०६६),समता काव्य सम्मान ( २०६६), बाबा साहित्य साधक पुरस्कार ( २०६८), विश्व नारी नेपाली साहित्य सम्मान ( २०७१), हाम्रो मझेरी साहित्य प्रतिभा सम्मान ( २०७१),जननी अवार्ड ( २०७२), श्रष्टा साहित्य चौतारी पुरस्कार ( २०७२), समता काव्य सन्ध्या रजत वर्ष सम्मान ( २०७४),सुभद्रा अधिकारी प्रतिष्ठान पुरस्कार (२०७६),नारी वाङ्मय प्रतिभा प्रतिष्ठान सम्मान ( २०७७), साहित्य शृङ्खला सम्मान ( २०७७),राष्ट्रिय संगीतकर्मी संघ सम्मान (२०७७),सप्तरङ्गी साहित्य सम्मान (पोखरा २०७७) ,झलक(पुष्पा सृजना पुरस्कार ( २०७९),नइ रजत महोत्सव पदक ( २०७९),नइ कृति रत्न ( २०८०),अभिलेख सम्मान ( २०८१),गीतकार प्रतिष्ठान सम्मान (२०८१) यसअघि प्राप्त गरिसक्नु भएको छ ।
वरिष्ठ साहित्यकार काजी रोशनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कमल बोहोरा, सीता नेपाली र नवीन शर्माले शुभकामना मन्तव्य दिनु भएको थियो भने, कार्यक्रम सञ्चालन नवराज गौतमले गर्नु भएको थियो ।