पोखरा । पोखराको बाटुलेचौरमा हुने २६ औं संस्करणको राष्ट्रिय कृष्ण भजन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
श्री कृष्ण जन्माष्टमीको पावन अवसरमा यही साउन ३१ गते शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गर्ने प्रतियोगिताको आन्तरिक बाहेकका अन्य तयारी लगभग पुरा भएको प्रचार प्रसार उपसमितिका संयोजक संजय थापाले जानकारी दिनुभयो ।
मंगलबारसम्म सहभागी टिम दर्ताको समय तोकिएको र सो समयभित्र १६ वटा टिम दर्ता भएका छन्। महेश्वर खनाल भजन समुह तनहुँ, भद्रकाली खैंजडी भजन समुह धादिङ, हरिहर भजन कीर्तन समुह स्याङ्जा, सहित कास्कीका विभिन्न भजन टोली र विद्यालयका स साना विद्यार्थी सहभागी भजन टोली पनि सहभागी हुने बताईएको छ ।
बाटुलेचौर ऐतिहासिक मैदानमा हुने प्रतियोगिताको लागि प्रतिष्ठानले बुधबार गोलाप्रथाबाट टाइसिट समेत सार्वजनिक गरेको छ ।
प्रतियोगितालाई व्यवस्थित गर्न गठित विभिन्न २३ वटा उपसमितिले तयारी पुरा गरेको र केही आन्तरिक काम मात्रै बाँकी रहेको प्रतिष्ठानका सचिव रामप्रसाद पौडेलले बताउनुभयो ।
प्रतियोगिताको व्यापक प्रचार प्रसार गरेको, विभिन्न सामाजिक तथा धार्मिक संघ संस्थासँग समन्वय भएको र दर्शकको चापलाई मध्यनजर गरी व्यवस्थित मञ्च निर्माण र सजावट गरिएको सचिव पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा यस क्षेत्रका आमा समुह, टोल विकास संस्था र विभिन्न जातिय तथा धार्मिक संस्था आ आफ्नो पहिचान झल्कने पोसाकमा सहभागी हुने प्रतिष्ठानले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख र प्रमाणपत्र, दोस्रो हुनेले नगद ७५ हजार र प्रमाणपत्र, तेस्रो हुनेले नगद ५० हजार र प्रमाणपत्र तथा सान्त्वना हुनेले नगद २५ हजार र प्रमाणपत्र तथा सहभागी टिमलाई प्रोत्साहन स्वरुप जनही ५ हजार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष दुर्गादेवी बस्नेत गौतमले बताउनुभयो ।
विगतका भन्दा यसपटकको कार्यक्रम थप व्यवस्थित र भव्य हुने उहाँको भनाई छ । कार्यक्रम सफल बनाउन ४ वटै स्थानीय तहसँग समन्वय गरिएको उपाध्यक्ष दीपेन्द्र बानियाँले जानकारी दिनुभयो ।
निरन्तर रुपमा कृष्ण जन्माष्टमी पर्व विशेष रूपमा मनाइने भएकाले यस क्षेत्रलाई गोकुल धामका रुपमा विकास गरिनुपर्नेमा समेत जोड दिईएको छ । कार्यक्रम सम्पन्न गर्न करिब १६ लाख खर्च लाग्ने बताइएको छ ।














