पोखरामा भारतीय फिल्म ‘मिलियन भ्युज’ टिमसँग पत्रकार भेट

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । सामाजिक कथावस्तुमा आधारित भारतीय फिल्म ‘मिलियन भ्युज’ को टिमले विहीबार पोखरामा पत्रकारहरूसँग भेटघाट गरेको छ ।
सेप्टेम्बर १२, २०२५ मा नेपालमा रिलिज हुन लागेको यो सिनेमा नेपालका सबै हलमा एकसाथ प्रदर्शन हुने बताइएको छ ।
पोखराको पत्रकार भेटमा श्रीकृष्ण हलका सञ्चालक तथा वितरक केदार पराजुली मिलियन भ्यूज सामाजिक कथावस्तुमा आधारित फिल्म भएको उल्लेख गर्नुभयो । कथा प्रभावकारी भएकाले नेपालका दर्शकलाई मन पर्ने विश्वास उहाँको छ ।

भारत पुगेर आफुले उक्त सिनेमा हेरेको र कथावस्तु राम्रो लागेर नै नैपालमा रिलिजको तयारी गरिएको जानकारी पराजुलीले गराउनुभयो ।
फिल्मका विश्वव्यापी वितरक विकास कुमार सिंह राजपूतले सिनेमा साइकोलोजिकल थ्रिलर भएको उल्लेख गर्नुभयो । ब्ल्याक वेबको भयावह गहिराइमा आधारित भारतीय थ्रिलर ‘मिलियन भ्युज’ ले २५ वर्षीया दृढ इच्छाशक्ति र आत्मसम्मान बोकेकी युवतीको जीवन–मरणको संघर्षलाई पर्दामा उतारेको भनाई उहाँको छ ।
‘मिलियन भ्युज’ मा युवतीको आत्मसम्मानको विषयलाई प्रभावकारी रुपमा उठाइएको छ । ९० मिनेटभित्र १० लाख भ्युज हासिल गर्न वा आफ्नी साथीको ज्यान गुमाउनुपर्ने कठोर अल्टिमेटमको विषयलाई आत्मसम्मान जोगाउने संकल्पसँग सिनेमामा जोडिएको उहाँले जानकारी गराउनुभयो ।

ब्ल्याक वेब र डिजिटल अपराधको पृष्ठभूमिमा बनेको थ्रिलर सिनेमाले मानव सहनशीलताको सीमा, व्यक्तिगत सम्मानको मूल्य र अनलाइन संसारमा लुकेको अँध्यारो सत्यलाई उजागर गर्ने उहाँले उल्लेख गर्नुभयो ।
वितरक विकास कुमार सिंहका अनुसार करिब १२ करोड रुपैयाँको लागतमा निर्माण भएको यस फिल्मलाई नेपालमा सयभन्दा बढी हलमा रिलिज गर्ने तयारी छ ।

काठमाडौंमा विशेष शोको योजना पनि गरिएको छ । फिल्म सेन्सर प्रक्रियामा रहेको र नेपालमा मल्टिप्लेक्स तथा सिंगल थिएटर दुवैमा प्रदर्शन हुने उहाँले जानकारी दिनुभयो ।
नालापानीका निर्देशक रिनेश अधिकारीले फिल्मको कथावस्तु नेपाल र भारत दुवैको सामाजिक पृष्ठभूमिसँग मेल खाने बताउनुभयो ।

थ्रिएटर कलाकार सिद्धी जेसवालको मुख्य भूमिका रहेको ‘मिलियन भ्युज’ आउटपुट मिडियाको ब्यानरमा निर्माण भएको हो ।
लेखक, निर्देशक तथा निर्माता अंशुल सिन्हा हुनुहुन्छ । सिनेमाटोग्राफर कृष्णा गोली, कला निर्देशक नानी, मेकअपमा लीला, पोशाक डिजाइनमा एमडी रहमान, पोस्टर डिजाइनमा कुनाल र सेट तथा प्रोप डिजाइनमा एमडी तौसीफ हुनुहुन्छ ।
फिल्म केवल थ्रिलर मात्र नभई डिजिटल संस्कृतिमा फैलिँदो मानव शोषण, नैतिक पतन र व्यक्तिगत सम्मानको मूल्यबारे गहिरो प्रश्न उठाउने सामाजिक टिप्पणीका रूपमा प्रस्तुत भएको दाबी गरिएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला