
पोखरा, साउन २२ । रियालिटी शो एक्टिङ स्टार को टप १० मा पर्न सफल कलाकार रेवन राई उपाधि जित्ने लक्ष्यसहित अगाडि बढिरहेको बताउनुभएको छ । पोखराबाट अभिनय यात्रा सुरु गर्नुभएकाको राई अहिले देशभरिका दर्शकको साथ र भोटको आशा गर्नुभएको छ ।
पोखरामा रंगकर्मी, सञ्चारकर्मी र शुभेच्छुकसँग भेटघाट गर्दै जन्मथलो सुनसरी भए पनि राईको रंगकर्मको सुरुवात पोखराबाट भएको बताउदै यात्रालाई अझ अघि बढाउन पोखरा आइपुगेको बताउनुभयो ।
पोखरा थिएटरको गन्धर्व नाटकघरमा आयोजित कार्यक्रममा उहाँले आफ्नो कलाकारिता यात्राको अनुभव बाँड्दै “हाल एक्टिङ स्टार शोको उत्कृष्ट १० प्रतिस्पर्धीमध्ये एक मेरो अभिनय यात्रा पोखराबाट सुरु भएको हो । यही सहरले मलाई रंगमञ्च चिनाएको हो । अब तपाईंहरूको साथ र भोटले यो सपना पूरा गर्न सक्नेछु भन्ने विश्वास छ।” भन्नुभयो ।
रेवन राई पछिल्लो समय राजधानीमा बसेर कलाकारितामा जम्न संघर्षरत हुनुहुन्छ । अभिनयमा परिपक्वता देखाएका उहाँ दर्शक र निर्णायकको नजरमा एक शक्तिशाली प्रतिस्पर्धीका रूपमा अगाडि बढिरहनुभएका छ । उहाँ उत्कृष्ट सयबाट सिधै उत्कृष्ट २० मा छनोट हुनुभएको थियो । हाल उहाँ टप १० मा छन् र अबको यात्रा दर्शकको भोटमार्फत तय हुनेछ ।
उहाँले पोखराबाट अभिनयमा ‘भोलेन्टियर’ भएर सुरु गर्नुभएको थियो ।उहाँले निरमाया, अ प्लेस माई हर्ट, उ मरेकी छैन जस्ता नाटकहरूमा अभिनय गर्नुभएको थियो ।
कोभिडको समयमा घर फर्कनुभएको उहाँ पछिल्लो वर्ष काठमाडौं गएर अभिनयमा सङ्घर्षरत हुनुहुन्छ ।
कार्यक्रममा सहकर्मी रोशन ज्ञवालीले सहजीकरण गर्नुभएको थियो भने पोखरेली हास्यकलाकार युवराज भण्डारी, रंगकर्मी चे शंकर, दील प्रसाद गुरुङ, त्रिवेणी, सुरेशराज अधिकारी, देव बस्नेत लगायतले शुभकामना व्यक्त गरेका थिए ।
राईले पोखरा थिएटरले दिएको प्लेटफर्मप्रति आभार व्यक्त गर्दै पोखरामा फर्केर रंगकर्मको यात्रा अगाडि बढाउने समेत प्रतिवद्धता प्रतिवद्धता गर्नुभयो । उहाँले पोखराले दिएको मौकाले मेरो पहिचान निर्माण भएको बताउदै नाम कमाउने र पोखरालाई चिनाउने र यही पहिचानलाई अझ सशक्त बनाउँदै अगाडि बढ्ने बताउनुभयो ।
रेवन राईले ‘एक्टिङ स्टार’मा सफल हुन सबै नेपालीसँग भोट माग्नुभएको छ ।
नेपालमा रहेका दर्शकले OSR Connect App डाउनलोड गरी ‘एक्टिङ स्टार’मा क्लिक गरेर रेवन राईको फोटोमा भोट दिन सक्नेछन् ।
विदेशमा रहेका दर्शकले Cinema Ghar App डाउनलोड गरी सोही प्रक्रिया अपनाएर भोट दिन सक्नेछन् ।
३ हजारभन्दा बढी प्रतिस्पर्धीबीच उहाँले सबै अडिसन चरण पार गरेर उत्कृष्ट १० मा स्थान बनाउन सफल हुनुभएको छ । अबको यात्रा दर्शकको भोटमा आधारित रहने भएकाले उहाँले सबैको साथ र समर्थनको आशा गर्नुभएको छ ।