
ज्योती हमाल, पोखरा । पोखराको न्युरोडमा सञ्चालित सुविता फेसन कर्नरकी सञ्चालक विमला वंशीले विसं २०६२ सालमा पाल्पा रामपुरबाट सिलाइ पेसा सुरु गर्नुभएको थियो । त्यसबेला उहाँका श्रीमान् विदेशमा थिए र घरमा फुर्सदको समय सिलाइ गरेर बिताउनुहुन्थ्यो । सिलाइको कामले उहाँलाई घरको खर्चमा मात्र सहयोग गरेन, आफूभित्रको सम्भावनालाई उजागर गर्ने अवसर पनि दियो ।
२०६४ मा गाउँका दिदीबहिनीले सिलाइकटाइ तालिम दिन अनुरोध गरेपछि १० जनालाई सिकाएर उनीहरू पनि सिलाउन सक्ने भएको र अहिले आ–आफ्नो व्यवसाय गरेर बसेको वंशी बताउनुहुन्छ ।
विसं २०७० सालमा छोरीको शिक्षाका लागि पोखरा बसाइ सर्दा पनि उहाँले सिलाइ पेसा छाड्नुभएन । कोठामै बसेर साना–ठूला अर्डर लिन थाल्नुभयो । पछि कोरोना महामारीका कारण श्रीमानले विदेशको जागिर छोडेर फर्किनुपरेपछि उहाँहरू दुवैजना मिलेर व्यवसायलाई व्यवस्थित बनाउँदै विसं २०८० सालमा न्युरोड पाल्पा हाउसमा ‘सुविता फेसन कर्नर’ सञ्चालन गर्नुभयो ।
अहिले विमलाको परिवार नै यस व्यवसायसँग संलग्न छ । श्रीमानले मार्केटिङको काम हेर्नुहुन्छ भने छोरीले पनि स्कुल बिदामा बुटिकमा सहयोग पु¥याउनुहुन्छ । ‘छोरी सानो हुँदा पनि मैले सिलाइ पेसा छोडिनँ, अहिले त सिंगो परिवार नै मेरो साथमा छ,’ विमला भन्नुहुन्छ । उहाँको मासिक आम्दानी ८०–९० हजार रुपैयाँसम्म पुग्छ ।
उहाँ भन्नुहुन्छ, ‘सीप सिकेर आत्मनिर्भर भयो भने घरमा हात फैलाएर पैसा माग्नु पर्दैन । महिलाले सीप सिक्न जरुरी छ । राज्यले पनि सहयोग गरे अझै प्रगति गर्न सकिन्छ ।’
आरती टेलर – १३ वर्षको यात्रा
पोखरा खुदीमा रहेको आरती टेलरकी सञ्चालक, बिमाया परियार बिगतख१३ वर्षदेखि यो पेसामा लाग्नुभएको हो । उहाँले सुरुमा आफ्नै दिदी–भिनाजुको घरमा बसेर सिलाइ सिकेर अहिले आफैँले व्यवसाय सञ्चालन गर्दै आत्मनिर्भर जीवन बाँचिरहनुभएको छ ।
परियार परिवारको साथ र समाजको हौसलाले आफू निरन्तर काम गर्न सक्षम भएको बताउँछिन् । उहाँ भन्नुहुन्छ, ‘ग्राहक सन्तुष्ट भए व्यवसाय चल्छ, महिला आत्मनिर्भर हुन यो पेसा उपयुक्त छ ।’
परियार जागिरभन्दा पनि आफैँले केही गर्न सकेपछि परिवार र आफ्नो लागि पनि केही हुन्छ भन्ने कुरामा जोड दिनुहुन्छ । सरकारबाट प्राप्त सहयोग एक किसिमको पुलजस्तै हो, जसले आर्थिक कठिनाइका कारण आफ्नो खुट्टामा उभिन नसकेका व्यक्तिलाई पेसा अपनाउन र आत्मनिर्भर बन्न मद्दत गर्ने परियार ठान्नुहुन्छ ।
उहाँले सरकारसँग आर्थिक अवस्था कमजोर भएका महिलालाई सिलाइ मेसिन खरिदका लागि सहयोगको अपेक्षा पनि राख्नुभएको छ ।
अनलाइनबाट अफलाइनसम्म – मालती थापा
पोखराको न्युरोडमा ‘ए एन्ड एम रोयल कलेक्सन’ सञ्चालनमा ल्याएकी मालती थापाको यात्रा पनि प्रेरणादायी नै छ । सुरुमा अनलाइनमार्फत व्यवसाय सुरु गर्नुभएको थापाले तीन वर्षको मेहनतपछि अहिले आफ्नै बुटिक सञ्चालन गर्नुभएको छ ।
उहाँले पहिले जागिर गर्थिन्, पछि आफ्ना दाइका छोराछोरीलाई पढाउन जागिर छोड्नुभयो । पछि बच्चाहरू स्कुल जान थालेपछि दिनभर फुर्सद हुँदा व्यवसाय सुरु गर्नुभयो । उहाँको भनाइ छ, ‘जागिर गर्दा समय हुँदैनथ्यो, तलब पनि सीमित तर अहिले भने व्यवसायले समय र पैसा दुवै दिएको छ ।’
मालतीको व्यवसायबाट मासिक ३०–५० हजार नाफा हुने गर्छ । उहाँ भन्नुहुन्छ, ‘ग्राहकले बुटिक महँगो भन्छन्, तर कपडाको मूल्य, डिजाइन, सिलाइ शुल्क सब बुझ्नुपर्ने हुन्छ । राज्यले साना व्यवसायमा सहयोग गरोस् भन्ने चाहना छ ।’
संस्थागत पहल
महिलालाई आत्मनिर्भर बनाउन संस्थागत प्रयास पनि महत्त्वपूर्ण हुने भएकाले बुटिक व्यवसायलाई व्यवस्थित रूप दिन विसं २०७३ मा ‘नेपाल बुटिक एसोसिएसन कास्की’ स्थापना गरिएको संस्थाकी अध्यक्ष तथा ‘मिमोसा बुटिक’की सञ्चालिका इन्दिरा लामिछाने बताउनुहुन्छ । उहाँले यो संस्था महिलालाई सीप, व्यावसायिकता र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने उद्देश्यले अगाडि बढिरहेको बताउनुहुन्छ ।
लामिछानेका अनुसार, कामदारदेखि लिएर बुटिक सञ्चालनका सबै कुरामा नियमन र लयमा ल्याउन संस्था आवश्यक रहेको छ ।
उहाँले हाल यस संस्थामा ६० जना सदस्य आबद्ध रहेको र यीमध्ये ३० जना आजीवन सदस्य रहेको, बाँकी साधारण सदस्यमा २ जना मात्र पुरुष र अरू महिला रहेको जानकारी दिनुभयो ।
एसोसिएसनले दिदीबहिनीलाई आफ्नै देशका लागि आत्मनिर्भर बन्न प्रोत्साहन गर्नुका साथै संस्थाले महिला दिदीबहिनीलाई व्यवसाय गर्न, ग्राहकसँग व्यवहार गर्न सिकाउने काम गरिरहेको छ । साथै, नेपाली ढाका, हिमालयन फाइबरजस्ता प्राकृतिक सामग्रीको प्रयोगलाई प्रवर्धन गर्दै आएको छ ।
सरकारी सहयोगको आवश्यकता
महिलालाई आत्मनिर्भर बनाउने अभियानमा गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले २०८१÷८२ मा १५१ जनालाई बेसिक, एडभान्स र फेसन डिजाइनको तालिम दिएको छ ।
त्यसैगरी पोखरा महानगरपालिकाको व्यवसाय प्रवर्धन केन्द्रले आर्थिक वर्ष २०८०÷८१ मा २० जनालाई सिलाइ तथा बुटिक तालिम दिइसकेको छ । राज्यबाट पनि महिलालाई स्वरोजगारको अवसर प्रदान गर्दै, विदेशिनुपर्ने बाध्यता कम गर्न र समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रयास भइरहेका छन् । पोखराका विमला वंशी, बिमाया परियार, मालती थापाजस्ता महिलाको कथाले देखाउँछ कि इच्छाशक्ति, सीप र पारिवारिक सहयोग भए, आत्मनिर्भरता सम्भव छ ।