धनुषाका सचिनलाई भारतमा ‘डा. कलाम युथ लिडरसिप अवार्ड २०२५’

नगेन न्यूज
  • ख-
  • ख+

जनकपुरधाम । नेपालका वातावरण तथा वन्यजन्तु संरक्षणकर्मी सचिनकुमार सिंहलाई भारतको प्रतिष्ठित ‘डा. कलाम युथ लिडरसिप अवार्ड २०२५ प्रदान गरिएको छ ।
भारतको जयपुरस्थित राजस्थान अन्तर्राष्ट्रिय केन्द्रमा आयोजना गरिएको ‘कलाम युथ लिडरशीप कन्फरेन्स–२०२५’ मा उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो ।
डा. कलाम युथ लिडरसिप अवार्ड २०२५ को प्राप्त गरेपछि सचिनले आफूजस्ता युवा अभियन्ताका लागि यो सम्मान थप प्रेरणाको स्रोत हुने प्रतिक्रिया दिनुभएको छ ।

“यो पुरस्कार केवल मेरो नभई सिंगो मिथिला र नेपालका वातावरणप्रेमीहरूको हो,” उहाँले भन्नुभयो ।

धनुषा जिल्लाको मिथिला नगरपालिका–८, कुसुमबिछौनाका स्थायी बासिन्दा सचिनकुमार सिंह वातावरण विज्ञानका विद्यार्थी हुनुहुन्छ । उहाँले आफ्नो अध्ययन, ज्ञान र रुचिलाई व्यावहारिक जीवनमा उतार्दै मिथिला वाइल्डलाइफ ट्रस्टका कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।

ट्रस्टको नेतृत्व गर्दै सिंहले तराई क्षेत्रका सामुदायिक वन, जैविक विविधता संरक्षण तथा स्थानीयस्तरमा वातावरणीय चेतना अभिवृद्धिमा उल्लेखनीय योगदान दिनुभएको छ ।

सन् २०१८ देखि निरन्तर रूपमा उहाँले वातावरण, वन्यजन्तु संरक्षण तथा जलवायु परिवर्तनबारे चेतना फैलाउने, नीतिगत पहल गर्ने र संरक्षण अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

उहाँ आफ्नो टोलीसहित विभिन्न गाउँहरूमा पुगेर स्थानीयलाई वन, पानी, माटो र वन्यजन्तु संरक्षणको महत्त्वबारे प्रशिक्षण दिने, सचेतना कार्यक्रम सञ्चालन गर्ने तथा संरक्षण अभियानहरूमा प्रत्यक्ष सहभागी गराउने काम गर्दै आउनुभएको छ ।
उहाँको यस्तो प्रयासले एकातर्फ तराई क्षेत्रका जंगलहरूमा हराउँदै गएको जैविक विविधता पुनःस्थापना गर्न सघाएको छ भने अर्कोतर्फ गाउँघरका मानिसहरूको दिगो जीविकोपार्जनको वैकल्पिक माध्यमसमेत सिर्जना गरेको छ ।
पर्यावरणसँग सम्बन्धित स्वदेशी ज्ञान, परम्परागत अभ्यास र आधुनिक विज्ञानको संयोजन गर्दै उहाँले वातावरण संरक्षणमा नयाँ दृष्टिकोण प्रस्तुत गर्नुभएको छ ।

सीमित साधन र स्रोतका बाबजुद उहाँले देखाएको जोश, दुरदर्शिता र समर्पण प्रेरणादायी छ । मिथिला क्षेत्रको पर्यावरणीय समृद्धि र वन्यजन्तु संरक्षणमा उहाँको योगदान एक आशाको किरण सावित भएको छ ।
स्थानीय बासिन्दा मात्र नभई संरक्षण विज्ञ, सरोकारवाला निकायहरू र नीति निर्माता समेत सचिनको कामबाट प्रभावित भएका छन् ।

उहाँका प्रयासहरूले नजिकिँदै गरेको जलवायु संकटको सामना गर्नुपर्ने विश्वव्यापी चुनौतिलाई सम्बोधन गर्न पनि सघाउने विश्वास गरिएको छ ।
उहाँजस्ता युवाको सक्रियता र पहलले नेपालमा वातावरण तथा जैविक विविधता संरक्षण अभियानलाई थप गति मिल्ने आशा गरिएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला