
पोखरा । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ)को आयोजनामा पोखरामा आदिवासी जनजाति महिला तथा किशोरीका अधिकार सम्बन्धी आधारभूत सिफारिस संख्या (जिआर)–३९ सम्बन्धी दुईदिने तालिम सुरु भएको छ ।
भोलिसम्म सञ्चालन हुने तालिम राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ) केन्द्रिय समितिको आयोजना र गण्डकी प्रदेश प्रदेश समन्वय परिषद्को समन्वयमा तालिम सुरु भएको हो ।
दुईदिन सम्म सञ्चालन हुने तालिममा गण्डकी प्रदेशका ५५ जना महिलाहरुको सहभागिता रहेको छ ।
तालिमको उद्घाटनपछि बोल्दै गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले समाजमा मिलेर प्रगति गरेको देख्न नसक्ने तत्व बाहेकले अहिलेको संविधानको गलत व्याख्या गर्न नसक्ने बताउनुभयो ।
अर्थमन्त्री गुरुङले मुलुकभित्र रहेका सबैलाई राज्य मेरो हो, राज्यप्रति अपनत्व कायम गर्न संविधानको गलत व्याख्या गर्न नहुने समेत बताउनुभयो ।
गण्डकी प्रदेशमा मगर र गुरुङ भाषाालाई सरकारी कामकाजमा प्रयोग गर्न सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक २०८१ सर्वसम्मत पारित भएकाले छिटै कार्यान्वयनमा लैजान प्रदेश सरकार प्रतिवद्ध रहेको समेत बताउनुभयो ।
गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले गण्डकी प्रदेश सभामा मगर र गुरुङ भाषालाई सरकारी कामकाजका लागि बनेको विद्येयक पास भइसकेकाले गण्डकी प्रदेशमा घरेलु मदिरा व्यवस्थापन गर्न बनेको विद्येयक पनि छिटै पास हुने बताउनुभयो ।
उहाँले महिला विरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मुलन सम्बन्धी महासन्धीको सिफारिस नम्बर ३९ गण्डकी प्रदेश सभामा समेत उठाउने बताउनुभयो ।
तालिमकी प्रशिक्षक एवम् त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक मिना गुरुङले यो तालिम आदिवासी जनजाति महिला मात्र नभएर सबै लागि महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य रेखा गुरुङ, राजकुमारी भुजेल, तमु ह्युल छोंज धीं का केन्द्रिय उपमहासचिव विष्णु गुरुङ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ गण्डकीका सल्लाहकार पूर्ण लामा, सल्लाहकार श्याममाया पुन मगर, आदिवासी जनजाति महासंघका केन्द्रिय उपाध्यक्ष स्रुति कुमाल, राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चको प्रदेश संयोजक माया गुरुङ भुजेल, नेपाल तामाङ घेदुङ कास्कीका अध्यक्ष भक्त तामाङ लगायतले बोल्नु भएको थियो ।
कार्यक्रम राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ) केन्द्रिय समितिका उपाध्यक्ष कल्पना भट्टचनको अध्यक्षता, कोषाध्यक्ष देउ छन्त्यालको स्वागत र निफ गण्डकी प्रदेश समन्वय परिषद्का सचिव मिलन भुजेलको सञ्चालनमा सम्पन्न भएको थियो ।