
धनुषा । पर्यावरण तथा वन्यजन्तु संरक्षणको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आउनुभएको नेपालका सचिनकुमार सिंहलाई भारतको प्रतिष्ठित डा. कलाम युथ रत्न अवार्ड २०२५ प्रदान गरिने भएको छ ।
भारतको राजस्थान अन्तर्राष्ट्रिय केन्द्र, जयपुरमा जुलाई २६ देखि २८ तारिखसम्म आयोजना हुने ‘कलाम युथ लिडरशीप कन्फरेन्स–२०२५’ मा उहाँलाई औपचारिक रूपमा सम्मान गरिनेछ ।
धनुषा जिल्लाको मिथिला नगरपालिका–८, कुसुमबिछौनाका स्थायी बासिन्दा सचिनकुमार सिंह वातावरण विज्ञानका विद्यार्थी हुनुहुन्छ । उहाँले आफ्नो अध्ययन, ज्ञान र रुचिलाई व्यावहारिक जीवनमा उतार्दै मिथिला वाइल्डलाइफ ट्रस्टका कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।
ट्रस्टको नेतृत्व गर्दै उहाँले तराई क्षेत्रका सामुदायिक वन तथा जैविक विविधताको संरक्षणमा विशेष योगदान पु¥याइरहनुभएको छ ।
सन् २०१८ देखि निरन्तर रुपमा पर्यावरण, वन्यजन्तु र जलवायु परिवर्तन सम्बन्धी चेतना अभिवृद्धि, संरक्षण अभियान र नीतिगत पहलमा सक्रिय रहेका सिंहको योगदान दिँदै आउनुभएको छ ।
उहाँ आफ्नो टोलीसहित विभिन्न गाउँहरूमा पुगेर स्थानीयलाई वन, पानी, माटो र वन्यजन्तु संरक्षणको महत्त्वबारे प्रशिक्षण दिने, सचेतना कार्यक्रम सञ्चालन गर्ने तथा संरक्षण अभियानहरूमा प्रत्यक्ष सहभागी गराउने काम गर्दै आउनुभएको छ ।
उहाँको यस्तो प्रयासले एकातर्फ तराई क्षेत्रका जंगलहरूमा हराउँदै गएको जैविक विविधता पुनःस्थापना गर्न सघाएको छ भने अर्कोतर्फ गाउँघरका मानिसहरूको दिगो जीविकोपार्जनको वैकल्पिक माध्यमसमेत सिर्जना गरेको छ ।
पर्यावरणसँग सम्बन्धित स्वदेशी ज्ञान, परम्परागत अभ्यास र आधुनिक विज्ञानको संयोजन गर्दै उहाँले वातावरण संरक्षणमा नयाँ दृष्टिकोण प्रस्तुत गर्नुभएको छ ।
सीमित साधन र स्रोतका बाबजुद उहाँले देखाएको जोश, दुरदर्शिता र समर्पण प्रेरणादायी छ । मिथिला क्षेत्रको पर्यावरणीय समृद्धि र वन्यजन्तु संरक्षणमा उहाँको योगदान एक आशाको किरण सावित भएको छ ।
स्थानीय बासिन्दा मात्र नभई संरक्षण विज्ञ, सरोकारवाला निकायहरू र नीति निर्माता समेत सचिनको कामबाट प्रभावित भएका छन् ।
डा. कलाम युथ रत्न अवार्ड २०२५ को मनोनयनमा पर्दै सचिनले आफूजस्ता युवा अभियन्ताका लागि यो सम्मान थप प्रेरणाको स्रोत हुने प्रतिक्रिया दिनुभएको छ ।
“यो पुरस्कार केवल मेरो नभई सिंगो मिथिला र नेपालका वातावरणप्रेमीहरूको हो,” उहाँले भन्नुभयो ।
उहाँका प्रयासहरूले नजिकिँदै गरेको जलवायु संकटको सामना गर्नुपर्ने विश्वव्यापी चुनौतिलाई सम्बोधन गर्न पनि सघाउने विश्वास गरिएको छ ।
उहाँजस्ता युवाको सक्रियता र पहलले नेपालमा वातावरण तथा जैविक विविधता संरक्षण अभियानलाई थप गति मिल्ने आशा गरिएको छ ।