अन्नपूर्ण गाउँपालिकाको सार्वजनिक सुनुवाई : जनगुनासो र समृद्धिको मार्गचित्र

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को तेस्रो चौमासिक अवधिमा सम्पन्न योजना, सेवा प्रवाह र विकासका कार्यक्रमबारे सार्वजनिक सुनुवाई गरेको छ । कार्यक्रममा पालिकावासीले खुलेर गुनासो र सुझाव राखे भने पालिकाले सुनुवाइमा उठेका कतिपय विषयहरुमा काम सुरु भइसकेको र जनगुनासोलाई भावी नीति निर्माणको आधार बनाउने प्रस्ट पारेको छ ।

विभिन्न वडाबाट आएका स्थानीयले सिमेन्ट थन्किएको, चिकित्सकको अभाव, बजेटको उपयोग, पूर्वाधार निर्माण, लक्षित वर्गका योजना, सार्वजनिक जग्गाको उपयोग नभएको, पारदर्शिता र मापदण्डको कमीजस्ता गुनासोहरू राखे । यस्ता गुनासोलाई पालिकाले गम्भीरतासाथ लिएको र समाधानतर्फ अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले स्रोत र कानुनी सीमाभित्र रहेर काम भइरहेको बताउनुभयो । उहाँले भवन निर्माणका लागि चाँडै शिलान्यास गरिने जानकारी दिनुभयो । अध्यक्ष के.सीले साना व्यवसाय प्रवद्र्धन (MEDPA) र सुरक्षित आप्रवासन (SaMi) कार्यक्रमबाट रोजगारी र सामाजिक सुरक्षामा सहयोग भईरहेको स्पष्ट पार्दै सामुदायिक विद्यालय सुधारमा पालिकाको सक्रियता बढिरहेको समेत बताउनुभयो ।

उपाध्यक्ष चन्द्रकला अधिकारीले महिला, बालबालिका, जेष्ठ नागरिक र गरिब वर्गका लागि नयाँ योजना ल्याइने बताउनुभयो । उहाँले नागरिक गुनासो सुन्ने मात्र नभई गुनासाहरुको व्यवहारिक समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले ‘कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार : अन्नपूर्ण समृद्धिको आधार’ भन्ने नारासहितको तेस्रो चौमासिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा ११ वटै वडाका कामहरू प्रस्तुत गरिएको थियो ।
जसअनुसार पालिकाले आ.व २०८१/२०८२ मा १ करोड ८८ लाख ७ सय ८५ रुपैयाँ राजश्व संकलन गरेको छ । सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा र प्राविधिक शाखाबाट आर्थिक वर्ष २०८१/८२ मा उल्लेखनीय कामहरू सम्पन्न भएका छन् । वृद्ध नागरिकदेखि दलित बालबालिकासम्मका लागि सामाजिक सुरक्षाको व्यवस्था गरिँदा, प्राविधिक योजनामार्फत आधारभूत पूर्वाधार विकासमा पनि जोड दिइएको छ ।

प्राविधिक शाखाको तर्फबाट २०८१/८२ मा ८ वटा योजना टेन्डर भएकोमा ७ वटा योजना सम्पन्न भएका छन् भने एउटा योजनाको म्याद थप भएको छ ।
यस्तै कृषि र स्वास्थ्य क्षेत्रमा चुनौतीका विच पनि महत्त्वपूर्ण उपलब्धि हासिल गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

स्थानीय डण्डपानी भण्डारीले वडा कार्यालय अगाडी लामो समयदेखि थन्किएका सिमेन्टका बोराहरूको विषय उठाउँदै विकास योजनामा ढिलासुस्ती र जनप्रतिनिधिको उपस्थिति अभावप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।
मुना भण्डारीले सार्वजनिक जग्गाको सदुपयोग नभएकोमा चिन्ता व्यक्त गर्दै स्थानीय सरकारले स्रोत व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो
। कार्यक्रममा स्थानीयहरु मनहरी भण्डारी, जोमाया देवकोटा, ऋषिराम भण्डारी लगायतले गुनासा तथा सुझावहरु राखेका थिए ।

माछापुच्छ्रे माविका व्यवस्थापन समितिका अध्यक्ष मनपति भण्डारीले सामुदायिक विद्यालय सुधारमा पालिका, शिक्षक, अभिभावक र समुदायको भूमिकाको महत्त्वबारे धारणा राख्नुभएको थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा पत्रकार सागर ढकालले प्रस्तुत गरेको सेवाग्राही सन्तुष्टि सर्वेक्षणमा पालिकाको सेवा प्रवाहप्रति स्थानीय सामान्यतः सन्तुष्ट देखिएका छन् । उहाँले अधिकांश सेवाग्राहीले कर्मचारीको व्यवहार सकारात्मक भएको बताएपनि केही सेवामा थप सुधार आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा टिपोटकर्ता श्रीभद्र पौडेलले सार्वजनिक सुनुवाइले सुशासन र पारदर्शिता प्रवद्र्धनमा सहयोग पु¥याउने धारणा राख्दै जनप्रतिनिधिले जनभावनाअनुसार जिम्मेवार ढंगले काम गर्नुपर्ने बताउनुभयो ।

स्थानीय संवाद, सुझाव तथा प्रश्नहरूलाई प्राथमिकतामा राख्दै बुधबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–२ नं. वडा अध्यक्ष पिताम्बर भण्डारीले स्वागत र पत्रकार इन्द्रप्रसाद पौडेलले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला