लेकसिटी कलेजबाट स्नातक तह पूरा गरेका विद्यार्थीको सम्मानमा विदाइ कार्यक्रम

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर पोखराले स्नातक तह अध्ययन पूरा गरेका विद्यार्थीहरुको सम्मानमा एक कार्यक्रमको आयोजना गरि विदाइ गरेको छ ।
कलेजमा स्नातक तह तृतीय वर्षमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा शनिवार भएको कार्यक्रममा खादा र मायाको चिनोसहित उनीहरुलाई विदाइ गरिएको हो ।
कार्यक्रमका प्रमूख अतिथि तथा कलेज संचालक समिति अध्यक्ष प्रा. डा. विश्वकल्याण पराजुलीले विद्यार्थीहरुलाई आगामी दिनका लागि शुभकामना दिँदै समाजको हितका लागि सदैव क्रियाशील हुन आग्रह गर्नुभयो । समय अनुकुल आधुनिक शिक्षा प्रदान गर्ने कुरामा कलेज प्रतिवद्ध रहेको बताउँदै अध्यक्ष प्रा. डा. पराजुलीले लेकसिटीका विद्यार्थीहरु समाजमा अव्वल सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
धेरै मानिसले आफ्ना लक्ष्य र उद्देश्यको पहिचान कलेज जीवनमा गर्ने गरेको भन्दै परिचय निर्माण र शीप विकासमा पनि केन्द्रित हुन उहाँले विद्यार्थीलाई सुझाव दिनुभयो ।
सो अवसरमा कलेजका सहायक क्याम्पस प्रमुख शोभाकान्त सिग्देलले संस्थाको हरेक गतिविधिलाई अघि बढाउन विद्यार्थीले खेलेको भूमिका स्मरणीय रहेको उल्लेख गर्नुभयो । सहायक क्याम्पस प्रमुख सिग्देलले अध्ययन पूरा गरेर विदा भए पनि कलेजले पूर्वविद्यार्थीहरुलाई सँधै संस्थाको सदस्यका रुपमा सम्मान गरिरहने बताउनुभयो ।
कार्यक्रममा मानविकी तर्फ स्नातक तह पूरा गरेका विद्यार्थीद्धय मार्था हिताङ  र स्मृति काफ्लेले मन्तव्य राख्दै कलेजमा अध्ययन गर्दाका विभिन्न प्रसंगहरु स्मरण गर्दै लेकसिटी सदैव  जीवनको अभिन्न अंग बनिरहने बताए ।
विविएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी प्रतीक पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन विद्यार्थीद्धय अस्मिता रानाभाट र सम्झना भट्टराईले गरेका थिए ।
मानविकीतर्फ स्नातक तहको अध्ययन पूरा गरेकी विद्यार्थी मिसान गोम्जाले गीत प्रस्तुत गर्नुका साथै कलेजमा मानविकी र व्यवस्थापनतर्फ स्नातक तहमा विभिन्न वर्षमा अध्ययनरत विद्यार्थीहरुले  सांस्कृतिक प्रस्तुतिका रुपमा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कलेजमा अध्ययापनरत प्राध्यापकहरुले विद्यार्थीहरुलाई टिका, खादा र मायाको चिनो प्रदान गरेर सम्मान गरेका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लेकसिटी कलेज २०६४ मा स्थापना भएको हो । हाल कलेजमा तीन सय ५० विद्यार्थी अध्ययनरत छन् ।
कलेजले शैक्षिक गतिविधिका अलावा अध्ययनरत विद्यार्थीलाई सहभागी गराएर विभिन्न कार्यक्रम वार्षिक रुपमा गर्दै आइरहेको जनाएको छ ।
रक्तदान, वृक्षरोपण, शैक्षिक भ्रमण तथा अवलोकन जस्ता कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
लेकसिटीस्थित सामाजिक विज्ञान केन्द्रले विभिन्न विषयमा मौलिक प्रस्तुतिका रुपमा हरेक महिना कचहरी कार्यक्रम गर्दै आएको छ ।
कलेजले स्नातक तहमा व्यवस्थापन तर्फ बीबीएस र मानविकी तर्फ पत्रकारिता तथा आमसञ्चार, समाजशास्त्र, अंग्रेजी साहित्य र बिएएसडब्लु (समाजसेवा) विषयमा पठनपाठन गर्दै आएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला