
काठमाडौं । ‘मिसेस नेपाल वल्र्ड २०२५’को आवेदन खुला भएको छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक रिबन इन्टरटेनमेन्टले यसबारे जानकारी दिएको हो ।
ग्रान्ड फिनाले असोज २८ गते प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने भएको छ ।
पहिलो चरणको अडिसन साउन १७ गते नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा हुने र त्यहाँ छनोट हुनेलाई फिनालेसम्मको यात्रा तय गराइने भएको छ ।
प्रतियोगितामा सहभागी हुन उचाइ र तौलको मापदण्ड छैन तर न्यूनतम शिक्षा एसएलसी उत्तिर्ण हुनुपर्ने प्रावधान रहेको छ ।
प्रतियोगितामा विवाहित मात्र नभई सम्बन्धविच्छेद तथा एकल महिलाले पनि आवेदन दिन सक्नेछन् ।
आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले वृहत र व्यवस्थित ढंगले कार्यक्रम आयोजना गरिने बताउनुभयो ।
मिसेस नेपाल वल्र्डसँगै मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधिका विजेता पनि सोही मञ्चबाट घोषणा गरिने भएको छ ।
मिसेस नेपाल वल्र्डले आगामी वर्ष अमेरिका हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् ।
पत्रकार सम्मेलनमा अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले विभिन्न पेशामा रहेका महिलाको लागि आफ्नो सौन्दर्य कलासँगै क्षमता प्रस्तुत गर्नको लागि यो प्रतियोगिता निकै महत्वपूर्ण भएको बताउनुभयो । उहाँले गत वर्षबाटै आफू यो प्रतियोगितामा जोडिएको र यसले महिलाको व्यक्तित्व विकासमा सहयोग र्पुयाएको पनि बताउनुभयो ।
‘एमएस नेपाल इन्टरनेसनल २०२३’ की बिजेता सीता सुवेदी केही समय यताबाट क्यान्सरसँग संघर्ष गरिरहेकाले उहाँको उपचारको लागि कलाकार घिमिरेले सो कार्यक्रममा आर्थिक सहयोग पनि प्रदान गर्नुभयो ।
पत्रकार सम्मेलनमा अभिनेत्री दीपिका प्रसाईँले यो प्रतियोगिता विवाहित महिलाको लागि ठूलो प्रतियोगिता भएको बताउनुभयो ।
वर्ष २०२४ की विजेता डेनिला कार्कीले उपाधि जितेपछि आफ्नो जीवनमा धेरै परिवर्तन आएको बताउदै मिसेस वल्र्डमा भाग लिन आफू अमेरिका जाने तयारीमा रहेको जनाउनुभयो ।
अफिसियल कोरियोग्राफरको रूपमा आश्विनीकान्त झा हुनुहुन्छ । प्रतियोगितालाई अन्तर्राष्ट्रियस्तरको बनाउन अमेरिका भ्रमण गरेर त्यहाँका नेपाली समुदाय र संस्थासँग समन्वय गरेर तयारी गरेको जानकारी दिनुभयो ।
आवेदन फारम खल्ती एप वा रिबन इन्टरटेनमेन्टको आधिकारिक वेबसाइटमार्फत भर्न सकिने छ ।