
पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा आयोजित “सञ्चारकर्मी दौड प्रतियोगिता” पोखरामा शनिबार सम्पन्न भएको छ ।
५ किलोमिटर सञ्चारकर्मी सडक दौडमा महिला तर्फ सरिता र पुरुष तर्फ दिलिप थारु प्रथम भएका छन् ।
समाधान दैनिकका थारुले २१ मिनेट ०७ सेकेण्डमा दौड पुरा गर्दा प्रमुख मिडियाकी सरिता गुरुङले ३० मिनेट ४३.०६ सेकेण्डमा फिनिश लाइन पार गर्नुभयो ।
त्यसैगरी, गोल नेपालका अर्जुन हिताङले २२ मिनेट १३ सेकेण्डमा दौड पुरा गर्दै पुरुषतर्फ दोस्रो स्थान र समाधान दैनिककै भिमपाणी बराल तेस्रो हुनुभयो ।
पब्लिक फोरके टिभिका रिखीराम जिशी चौथो र मयुर टाइम्सका प्रविन मगर पाँचौं स्थानमा हुनुभयो ।
महिला समूहमा भने कास्की पत्रकार महासंघकी उपाध्यक्ष कन्चन थापा कोइराला दोस्रो, प्राइम टिभीकी अनिता घिमिरे तेस्रो र मयुर टाइम्सकी प्रशन्ना मानन्धर चौथो स्थानमा प्राप्त गर्नुभयो ।
त्यसैगरी, मासिक रुपमा हुँदै आएको नियमित छात्र–छात्रा ५ किमि दौडमा छोरेपाटन माविका तिल बहादुर परियार पहिलो, प्रकाश थिङ दोस्रो र आयुष सुनार तेस्रो हुनुभयो । विष्णु पादुकाका विष्णु परियार चौथो र बराह माविका सुमन ढुङ्गाना पाँचौं भए। छात्रातर्फ मेघराज माविकी एन्जिला जिटीले पहिलो स्थान हात पार्नुभयो भने श्रीकृष्ण माविकी स्मृति विक दोस्रो, अमरसिंह माविकी एलिना कार्की तेस्रो र सेन्ट मेरिजकी उपासना जोइ गुरुङ चौथो स्थानमा आउनुभयो ।
कार्यक्रमका विजेताहरूलाई अग्रज पत्रकार नारायण कार्की, बद्रि विनोद प्रतिक, कृष्ण प्रसाद बाँस्तोला, मञ्चका सल्लाहकार तिलक केसी, संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट लगायतले पदक, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरेका थिए ।
मञ्चका महासचिव केशव पाठकका अनुसार ‘१२ महिना १२ कार्यक्रम’ योजना अन्तर्गत यो दौड आयोजना गरिएको हो ।
मञ्चले हरेक वर्ष फागुन महिनाको पहिलो शनिबार ४२ किमिको पोखरा म्याराथन प्रतियोगिता पनि आयोजना गर्दै आएको छ ।