
पोखरा । लामा अमृत फाउन्डेसन घान्द्रुकको आयोजनामा तेस्रो संस्करणको क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
फाउन्डेसनले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त प्रतियोगिताबारे जानकारी दिएको हो ।
प्रतियोगिता यही असार २४ देखि २८ गतेसम्म नदिपुर स्थित नेपाल छन्त्याल समाजको भवनमा सञ्चालन हुने फाउन्डेसनका संस्थापक अध्यक्ष लामा अमृत गुरुङले बताउनुभयो ।
उहाँले यस तेस्रो संस्करणको पुरुष भलिबल प्रतियोगितामा सहभागी हुने टोलीले सातौं, आठौं र नवौं राष्ट्रिय खेलकुद र राष्ट्रिय पुरुष भलिबल टिमका ३ जना खेलाडी समावेश गर्न पाइने बताउनुभयो ।
यस्तै भेट्रान्स भलिबलतर्फ ३८ वर्ष उमेर पुरा भएका खेलाडी मात्र समावेश गर्न पाइने आयोजकले जनाएको छ ।
पुरुषतर्फको प्रतियोगिताको विजेताले नगद रु १ लाख २५ हजार, उपविजेताले नगद रु ७५ हजार, तेस्रो हुनेले नगद रु ३० हजार र सान्त्वना हुनेले १५ हजार सहित मेडल, प्रमाण(पत्र र ट्रफी प्राप्त गर्नेछन् ।
त्यस्तै भेट्रान्सतर्फको विजेताले नगद रु ५० हजार र उपविजेताले नगद रु २५ हजार सहित ट्रफी, मेडल र प्रमाण(पत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर,सर्भर, उदियमान खेलाडी र प्रशिक्षकले समेत आकर्षक पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा ६ टिमलाई मात्र सहभागी गराउने फाउन्डेसनले जनाएको छ।
आयोजकका अनुसार प्रतियोगितामा ६ टिमलाई सहभागी गराउने भनिएपनि यदि ५ समूहको मात्र सहभागिता भएको खण्डमा भने राउण्ड रोविनको आधारमा सञ्चालन हुने अन्तराष्ट्रिय भलिबल रेफ्री टहलसिंह थापामगरले बताउनुभयो ।
उहाँका अनुसार प्रतियोगितामा भेट्रान्सतर्फका खेल भने नकआउटको आधारमा सञ्चालन हुने छ ।
प्रतियोगिताको पहिलो दिन दर्शकहरुको लागि निशुल्क प्रवेश रहेपनि दोस्रोदिन देखि भने टिकटको व्यवस्था रहेको आयोजकले जनाएको छ ।