
पोखरा । पोखरा महानगरपालिका वडा नं १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले शुक्ला साहित्य प्रतिष्ठानले आयोजन गर्ने राष्ट्रिय कृष्ण भजन प्रतियोगिता भव्य,सभ्य र सुसंस्कृतरुपमा सम्पन्न गराउन हामी सम्पूर्ण पोखराबासीको दायित्व रहेको बताउनुभयो ।
पोखरा १९ को वडाकार्यालय सभाहलमा प्रतिष्ठानद्वारा बुधबार आयोजित आमा समूह तथा विभिन्न सामाजिक संघ संस्थाहरुसंगको अन्तरक्रिया कार्यक्रममा प्रमूख अतिथि पाण्डेले कार्यक्रमको उद्घाटनपछि कार्यक्रममा उक्त कुरा बताउनुभएको हो ।
वडाध्यक्ष पाण्डेले शुक्ला साहित्य प्रतिष्ठानले भाषा साहित्य र कलाको क्षेत्रमा गर्दै आएका उल्लेख्य कार्यहरुको प्रशंसा गर्दै संस्थाले विगत २५ वर्षदेखि हुँदै आएको जन्माष्ठमी विशेष कृष्णभजन प्रतियोगिताले यस ठाउँको धार्मिक महत्वलाई बढाएको र प्रतियोगिता थप व्यवस्थित बनाउन सबै एकढिक्का भएर लाग्नु पर्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष दुर्गादेवी बस्नेतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पोखरा १९ का स्थानीय आमा समूह, विभिन्न सामाजिक संघ संस्था, संस्थाका आजीवन सदस्य तथा सामाजिक व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष दीपेन्द्र बानियाँले कार्यक्रमको उद्धेश्यमाथी प्रकाश पार्दै यस वर्षको कृष्णभजनलाई विगतका वर्षहरु भन्दा थप व्यवस्थित बनाउन संस्था जुटिरहेको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा २६ औ कृष्ण भजन प्रतियोगिता अर्थ उप समिति संयोजक सुमनराज पौडेलले प्रतियोगिता आयोजनाका लागि आवश्यक आर्थिक पक्षको जानकारी गराउनुभयो ।
प्रतिष्ठानका पूर्व कार्यसमिति सदस्य कमला कार्की तथा रामचन्द्र आचार्यले वर्तमान कार्यसमितिले विगतका प्रतियोगिताबाट देखिएका विभिन्न सुधारात्मक पक्षहरुलाई थप व्यवस्थित गर्नु पर्ने कुरामा जोड दिनुभयो ।
अन्य सामाजिक संघ संस्थाका प्रतिनिधिहरुले प्रतियोगिता संचालन समय अवधि र प्रतियोगी समूहहरुको व्यवस्थापन पक्षलाई थप व्यवस्थित गर्नु पर्ने कुरामा जोड दिएका थिए ।
२६ औ राष्ट्रिय कृष्णभजन प्रतियोगिता महिला तथा सामाजिक संघ संस्था उपसमिति संयोजक शारदा बस्नेतको संयोजकत्वमा भएको कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष गीता भण्डारीले स्वागत तथा कार्यक्रमको संचालन सचिव रामप्रसाद पौडेलले गर्नुभएको थियो ।