
पोखरा । गण्डकी प्रदेश सरकारले युवाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालित सीपमूलक तालिम कार्यक्रम प्रभावकारी रूपमा अघि बढेको छ ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा आव २०८१ र ०८२ मा ३८ वटा तालिम सञ्चालन भइसकेका छन्, जसमा ७८७ जना सहभागी भएको जानकारी गराइएको छ ।
पछिल्लो ३ महिनामा मात्रै २०४ जना सहभागी १० वटा तालिम पूरा गरी अब व्यवसायिक यात्राको सुरुवातमा छन् ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले आयोजित समापन कार्यक्रममा सहभागी हुँदै आगामी वर्षमा १४ सयभन्दा बढी युवालाई व्यावसायिक तालिम दिने योजनाबारे जानकारी गराउनुभयो ।
सीप सिकेर स्वदेशमा नै उद्यम गर्न चाहने युवालाई प्रदेश सरकारले सिट मनीको व्यवस्था गरेको जानकारी उहाँले गराउनुभयो । आव २०८२ र ०८३ को बजेटमा उक्त व्यवस्था गरिएको भनाई उहाँको छ । आर्थिक कमजोर भएकालाई प्रदेश सरकारको साथ रहने उहाँले उल्लेख गर्नुभयो । बैंकबाट समेत सस्तो ब्याजमा ऋण उपलब्ध गराउन प्रदेश सरकारले नै सिफारिस गरिदिने व्यवस्था गरिएको उहाँले जानकारी गराउनुभयो ।
उहाँका अनुसार काम गरेर सानो कोहि हुँदैन श्रमको सम्मान गर्न जान्ने व्यक्ति नै अगाडि बढ्छ ।
समापन कार्यक्रममा युवा प्रशिक्षार्थी पुष्पा पहारीले तालिमले आफूजस्ता आर्थिक रूपमा कमजोर पृष्ठभूमिका युवाहरुलाई आशा र विश्वास दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “केही बन्छु, केही गर्छु भन्ने आत्मविश्वास जागेको छ। आधुनिक सिकाइ प्रविधिबाट सिक्ने मौका पाएको छु । अब सिकेको सीपलाई राम्रो ठाउँमा लगानी गर्नेछु ।”
कार्यक्रममा व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराका नि.केन्द्र प्रमुख डिल्लीराज सुवेदीले तालिम उत्साहजनक रूपमा सम्पन्न भएको बताउनुभयो । स्वावलम्बी बन्ने यात्रामा तालिमले टेवा पुग्ने विश्वास उहाँको छ । उहाँले पछिल्लो ३ महिने तालिममा मोबाइल मर्मत, प्लम्बिङ, सिलाई–कटाई, ब्युटी पार्लर, फेसन डिजाइन, सैलुन, मण्टेश्वरी, कुक (बिहानी/दिवा), र एडभान्स कटाई–सिलाईजस्ता १० थरिका व्यावसायिक तालिम उपलब्ध गराइएको जानकारी गराउनुभयो ।
गण्डकी प्रदेश सरकारले आगामी वर्षमा अझ धेरै युवाहरूलाई लक्षित गर्दै सीप आधारित कार्यक्रमहरू विस्तार गर्ने जनाएको छ । आत्मनिर्भर युवा निर्माणमार्फत समाजको आर्थिक आधार बलियो बनाउने लक्ष्य सरकारको रहेको छ ।