
पोखरा । पोखरा महानगरपालिकाले इन्जिनियरिङ कन्सल्टेन्सी नवीकरण शुल्कमा गरेको एकपक्षीय वृद्धि विरुद्ध पोखरा महानगरपालिकामा नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशको ध्यानाकर्षण गराएको छ ।
नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेश कार्यसमिति तथा अन्य इन्जिनियरहरू संयुक्त रूपमा पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जु गुरुङसहित सम्बन्धित पदाधिकारीहरूसँग भेट गरी पोखरा महानगरपालिकाले इन्जिनियरिङ कन्सल्टेन्सी नवीकरण शुल्कमा गरेको एकपक्षीय वृद्धि विरुद्ध ध्यानाकर्षण गरेका हुन् ।
गत वर्षबाट लागू गरिएको शुल्क वृद्धिको खारेजी गर्दै तत्काल फिर्ता गर्न इन्जिनियरहरूले माग गरेका छन् ।
इन्जिनियरहरूको तर्फबाट शुल्क वृद्धिले पेशागत अभ्यासमा आर्थिक बोझ बढाउने र यस्तो निर्णय सरोकारवाला निकायहरूसँग पूर्व समन्वयबिना गरिनु गम्भीर विषय भएको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गरिएको छ ।
नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशले यस्ता निर्णयहरू पारदर्शी, समावेशी र व्यावहारिक तरिकाबाट अगाडि बढाउन सरोकारवाला निकायहरूसँग समयमै संवाद तथा सहकार्य गर्नुपर्नेमा जोड दिएको छ ।