सङ्गीत तथा नाट्यकला उत्सव शुक्रबार हुँदै, ७ प्रदेशका मौलिक नृत्य प्रस्तुत गरिने

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौँ, जेठ २७ । सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले जेठ ३० गते काठमाडौँमा ‘राष्ट्रिय संगीत तथा नाट्य उत्सव २०८२’ आयोजना गर्ने भएको छ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी कुलपति निशा पोखरेलले नेपालको कला, संस्कृति, भाषा, साहित्य, गीतसङ्गीत, वेशभूषामार्फत सिङ्गो देशको चित्रण गरिने प्रदर्शनी, महोत्सव र उत्सवले ती क्षेत्रको विकास मात्र गर्दैनस संरक्षण र प्रवर्धनमा पनि ठुलो टेवा र्पुयाउने भएकोले सातै प्रदेशको विविधतालाई एउटै मञ्चमा ल्याउँदा ती प्रदेशका लुकेका प्रतिभाको पहिचान मात्र नभई उनीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा पाइला टेक्ने बाटो पनि खुल्ने बताउनुभयो । उहाँले यसै सिलसिलामा नेपाली लोकसङ्गीत, शास्त्रीय सङ्गीत, नाट्यकला र सांस्कृतिक विविधताको बहुआयामिक पक्षलाई समट्दै राष्ट्रिय सङ्गीत तथा नाट्य उत्सव–२०८२ आयोजना गरिने जानकारी दिनुभयो ।

उहाँले उत्सवमा सातै प्रदेशका चर्चित तथा उदाउँदा कलाकारको सहभागिता रहने यसले देशको सांस्कृतिक विविधतालाई एउटै मञ्चमा समेट्ने अमूल्य अवसर प्रदान गर्ने बताउनुभयो । उहाँका अनुसार उत्सवको मूल उदेश्य नेपाली गीतसङ्गीत र नाट्यकला क्षेत्रको विकास, प्रवर्धन र मौलिकता संरक्षण गर्नु हो ।

उत्सवका संयोजक उपकुलपति शम्भु राईले उत्सवमा सङ्गीत, नाट्य र साहित्य विधाका बुद्धिजीवी, अनुसन्धाता, अग्रज स्रष्टा कलाकार, विद्यालय र क्याम्पसका विद्यार्थीलाई समेत सहभागी गराइने जानकारी दिनुभयो । उपकुलपति राईले बाह्य संस्कृतिको उपनिवेश एवं आन्तरिक सांस्कृतिक दबदबाका कारण अल्पसङ्ख्यक जाति–भाषी समुदायका लोकसंस्कृति लोपोन्मुख अवस्थामा पुगेकाले ती लोकसंस्कृतिको जगेर्नाका लागि पनि प्रज्ञा–प्रतिष्ठानले यस खाले उत्सव आयोजनाको रणनीति लिएको बताउनुभयो ।
प्रतिष्ठानका सदस्यसचिव कुश्मा महराले उत्सवमा कोशी प्रदेशबाट आठपहरिया राई जातिको ढोल नाच, माखन्डासे गीत, मधेश प्रदेशबाट मिथिला सङ्गीत र भोजपुरी गीत, बागमती प्रदशेबाट घ्याङ्ताङ निस्से नाच र फकन्दली नृत्य (नेपाल भाषा) , गण्डकी प्रदेशबाट झाम्रे र यानीमाया नृत्य, लुम्बिनी प्रदेशबाट डिग्रे पैसरी र लस्के नृत्य, कर्णाली प्रदशेबाट टप्पा गीत र झ्याउरे नृत्य, सुदूरपश्चिमबाट देउडा र छलिया नृत्य प्रस्तुत हुने जानकारी दिनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उत्सवको उद्घाटन गर्ने उत्सवमा सात प्रदेशका विभिन्न मौलिक गीतसङ्गीत तथा नृत्यको प्रस्तुतिका साथै लक्ष्मी मालीको कविता ‘आमा तिम्रो नाम के हो’ मा नाटक मञ्चन हुने छ ।
नाटकको निर्देशन तथा परिकल्पना वीरेन्द्र हमालले गर्नुहुने छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले पत्रकार सम्मेलन मार्फत उत्सव जेठ ३० गते आयोजना हुने जानकारी दिएको छ । उत्सव दिउँसो १ः३० बजे सुरु हुनेछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला