
पोखरा । सामाजिक कार्यका विद्यार्थीहरुले समाजमा धेरै योगदान दिन सक्ने बुधबार पोखरामा आयोजित सम्वाद कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरअन्तर्गत समाज विज्ञान केन्द्रले आयोजना गरेको ‘सामाजिक सेवामा सामाजिक कार्यका स्नातक र गैरसरकारी संस्था’ विषयक सहयोग सम्वाद कार्यक्रममा उनीहरुले यसबारे चर्चा गरेका हुन् ।
स्नातक तहमा सामाजिक कार्य विषय अध्ययन अनुसन्धान गराउँदै आएको लेकसिटी कलेजले पछिल्लो समय सरकारी र गैरसरकारी क्षेत्रमा यसको आवश्यकता बढेसँगै सरोकारवालासँग विद्यार्थीको संवाद कार्यक्रम आयोजना गरेको थियो ।
समाजमा सचेतना फैलाउन र शिक्षा तथा सीप विकासमा सामाजिक कार्यका विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको मानिन्छ । सामाजिक अध्ययन अनुसन्धान र स्वयम्सेवकका रुपमा रहेर पनि उनीहरुले योगदान दिने गरेका छन् ।
कार्यक्रमका प्रमूख वक्ता गैरसरकारी संस्था महासंघका निवर्तमान अध्यक्ष राम सुवेदीले युवाहरुले समाजको दिगो विकासमा योगदान दिनु पर्ने भएकाले उहाँहरुमा नयाँ सोच हुन आवश्यक रहेको बताउनुभयो । ’सामाजिक कार्यमा आवद्ध संघसंस्था र शैक्षिक संस्थाका वीच सिकाइ तथा अनुभव आदनप्रदान, अध्ययन अनुसन्धान र स्वयम्सेवक परिचालनममा सहकार्य गर्न पर्छ ’ सुवेदीको भनाइ छ ।
गैरसरकारी संस्थाले शिक्षा, स्वास्थ्य, मानवअधिकार, सामाजिक न्याय, आर्थिक सशक्तिकरण लगायतका कार्यमा महत्वपूर्ण योगदान दिएको उहाँको धारणा छ । नेपालमा नागरिक संस्थाहरु राणाकालिन, पञ्चायतकालिन र बहुदलीय प्रजातन्त्रकालिन गरि तीन चरणमा विकास भएको हो । ’राणा कालमा संघसंस्था खोल्न पाइदैनथ्यो तर पनि चर्खा उद्योग, गुठी र केही धार्मिक संघसंस्था त्यो अवधीमा खोलिएको थियो’ उहाँ भन्नुहुन्छ ।
नेपालमा विस २००७ देखि २०१७ सालको अवधीमा रेडक्रस जस्ता संस्थाहरु खोलिएको र विस २०४६ साल पछिको अवधि गैरसरकारी संस्थाका लागि स्वर्णीमकाल रहेको मानिन्छ । विगतमा करुणा, वर्तमानमा अधिकार र भविष्यमा साझेदारीको अवधारणमा गैरसरकारी क्षेत्र अगाडि बढेको उहाँको भनाइ छ ।
कोपिला नेपालका कार्यकारी निर्देशक वीना सिलवालले सामाजिक कार्यलाई जागिरका रुपमा भन्दा पनि मानवसेवाका रुपमा हेर्नु पर्ने भन्दै जेसुकै काम गरे पनि सामाजिक भावना भए योगदान गर्न सकिने बताउनुभयो । सिलवालका अनुसार हाम्रो समाजमा देखिएका समस्याहरु विभिन्न खालका विभेदका कारण सृजना भएको हो ।
आर्थिक, लैंगिक, राजनीतिक, सामाजिक, भौगोलिक, जातीय विभेदका कारण समस्या निम्तिएकाले विभेदरहित भावना हाम्रो मनमा सृजना गर्नका लागि युवाहरु परिवर्तन हुनुपर्नेमा उहाँको जोड छ ।
पोखरा रिर्सच सेन्टरका कार्यकारी निर्देशक सुजन रेग्मीले सामाजिक कार्य विषयमा अध्ययनरत विद्यार्थीहरुले अध्ययन, अनुसन्धान,व्यवस्थापन लगायतका क्षेत्रमा आफूलाई कहाँ नेर जोड्न सकिन्छ भनेर ध्यान दिनु पर्ने सुझाव दिनुभएको छ । अध्ययन अनुसन्धानले मात्र समाजको वास्तविक धरातल थाहा नहुने भएकाले गैरसरकारी संघसंस्था मार्फत अनुभव लिनु पर्ने रेग्मीको भनाइ छ ।
एसओएस चिल्ड्रेनका प्रदीप भक्त आचार्यले सामाजिक कार्य अध्ययन अनुसन्धान गरेका युवाहरुको आवश्यकता विभिन्न गैरसरकारी संस्थालाई रहेको बताउनुभयो । आचार्यले संचार सीप, सूचना प्रविधि र अरु ज्ञानका क्षेत्रमा समेत जानकार भएर अगाडि बढ्न विद्यार्थीहरुसँग आग्रह गर्नुभएको छ ।
असल छिमेक नेपालका कार्यकारी अधिकृत दिनेश केसीले सामाजिक कार्यको अध्ययनले समाजसेवाको भावनालाई थप सशक्त बनाउन सहयोग गर्ने धारणा राख्नुभएको छ । तर व्यवहारिक ज्ञानका लागि भने विद्यार्थीहरु काममा पनि लाग्नु संलग्न हुनुपर्ने केसीको भनाइ छ ।
गैरसरकारी संस्था महासंघ कास्कीका निर्वतमान अध्यक्ष डा वुध्दि थापाले सामाजिक कार्यमा संलग्न हुनेले जनताको चासो र चिन्ता केमा छ भनेर पत्ता लगाउन सक्नु पर्ने बताउनुभयो ।
मानव सेवा आश्रम कास्कीका संयोजक सदिस पुनले नेपाल आर्थिकरुपमा अरु देशभन्दा कमजोर भए पनि मानवीय भावनामा भने अग्रस्थानमा रहेको तथ्य स्मरण गराउनुभयो । लेकसिटीका पूर्व विद्यार्थी समेत रहेका पुनले सामाजिक कार्यमा लागिरहँदा करुणाभाव, अनुशासन, स्पष्ट दृष्टिकोण आदि हुनु पर्नेमा जोड दिनुभयो ।
कलेजकी पूर्वविद्यार्थी स्वस्तिमा मानन्धरले सामाजिक कार्य अध्ययन अनुसन्धान अन्तर्गत विद्यार्थीहरुले पाउन सक्ने अवसरहरु बारेमा पनि पर्याप्त छलफल हुन नसकेको अनुभव सुनाउनुभयो ।
संवाद कार्यक्रममा सहभागी हुँदै कलेजमा अध्ययनरत विद्यार्थी सन्देश शर्माले संविधानमा रोजगारीलाई मौलिक हकका रुपमा उल्लेख गरिएको र हालै सरकारले ल्याएको पढ्दै कमाउँदै अभियानका वीच सामन्जस्यताको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले गैरसरकारी संस्थाले विद्यार्थीलाई इन्टर्नसिप दिने सन्दर्भमा सरकारसँग साझेदारीमा काम गर्न सक्ने सुझाव दिनुभयो ।
त्यस्तै अर्की विद्यार्थी दीपा दवाडीले गैरसरकारी संस्थाहरुमा कर्मचारी आवश्यक पर्दा गर्ने विज्ञापनमा सामाजिक कार्य विषय अध्ययन गरेकालाई प्राथमिकता नदिएको गुनासो गर्नुभयो ।
कार्यक्रमकी सभापति अस्मिता रानाभाटले सामाजिक कार्य विषय अध्ययन, अनुसन्धान र कार्य गरिरहेकाहरुलाई लाइसेन्सको व्यवस्था गरिनु पर्ने बताउनुभयो । कलेजकी विद्यार्थी समेत रहेकी रानाभाटका अनुसार उच्च शिक्षा लिएर पनि भविष्यमा लाइसेन्सका कारण समस्या हुन सक्ने भएकाले राज्यले आवश्यक कानुन निर्माणमा ध्यान दिनु पर्छ ।
कलेजका सहायक क्याम्पस प्रमूख शोभाकान्त सिग्देलले समाजको स्थिति बुझाउन कलेजले विद्यार्थीहरुलाई देशका विभिन्न क्षेत्रको भ्रमण गराउने गरेको जानकारी दिनुभयो । कलेज अन्र्तगत रहेको सोसल क्लबले विविध कार्यक्रम गरिरहेको उहाँको भनाइ छ ।
समाज विज्ञान केन्द्रका संयोजक अनिष पौडेलले लेकसिटी कलेजले विभिन्न संघसंस्थाहरुसँग सहकार्य गरेर आफ्ना विद्यार्थीहरुलाई सामाजिक कार्यमा सहभागी गराएको जानकारी दिनुभएको छ । त्यसैगरी इन्टर्नसिपमा जाने कलेजका विद्यार्थीका लागि व्यवहारिक ज्ञान लिन सहयोगी हुने विश्वासमा यो कार्यक्रम आयोजना गरिएको पौडेलको भनाइ छ ।
कार्यक्रममा पोखरा महानगर पालिकाको सामाजिक शाखाकी सूचना अधिकृत चन्द्रावती वाग्ले, समाजशास्त्री डा रामचन्द्र बरालले सामाजिक कार्य विषयमा प्रकाश पारेका थिए ।
लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरअन्तर्गतको समाज विज्ञान केन्द्नले १० वर्षदेखि समसायिक विषयमा नियमित छलफल गर्दै आएको र आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ ।
कलेजमा स्नातक तहमा सामाजिक कार्य सहित विविएस र बिएमा अंग्रेजी र पत्रकारिता पढाई हुँदै आएको छ ।