
पोखरा । राष्ट्रिय युवा संघ नेपाल दशौं राष्ट्रिय महाधिवेशन क्षितिज थेबे नेतृत्वको प्यानलले बहुमतसहित विजय हासिल गरेको छ ।
नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालको नवौं महाधिवेशनबाट अध्यक्ष बन्नुभएको थेबे पोखरामा भएको दशौं महाधिवेशनबाट पनि अध्यक्षमा दोहोरिनुभएको हो । थेबेले ७९६ मत पाउनुभएको थियो भने उहाँका प्रतिस्पर्धी सुमन पुरीले ६०८ मत पाउनुभएको थियो ।
युवा संघका इन्चार्ज राजीव पहारीका अनुसार पदाधिकारीसहित केन्द्रीय समितिका अधिकांश पदमा पनि थेबे प्यालन निर्वाचित भएका छन् ।
अध्यक्षका उम्मेदवार थेबेको प्यानलबाट उपाध्यक्षमा महाराजा गुरूङ र विनय शाही, महासचिवमा महेश चौलागाईं र उपमहासचिवमा उपेन्द्र शाही, खुला सचिवमा मदन भण्डारी, देवु बस्नेत, महिला सचिवमा निशा लिम्बू र मधेशी सचिवमा मोबिन आलम उम्मेदवार बनेका थिए ।
अध्यक्षकै अर्का दाबेदार पुरीको प्यानलबाट उपाध्यक्षमा पर्वत भण्डारी र प्रकाश गौतम, महासचिवमा कुवेर अधिकारी र उपमहासचिवमा खेमराज शर्मा, खुला सचिवमा ध्रुव खड्का र अरुण कुँवर, महिला सचिवमा रेशु तामाङ र मधेशी सचिवमा चितरञ्जन यादव उम्मेदवार उठेका थिए ।
महाधिवेशनमा पदाधिकारी र सदस्यहरू गरी कुल ३९९ जनाको उम्मेदवारी परेको थियो । ९ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ । साथै, ४ वटा विभागमा अध्यक्ष, उपाध्यक्ष र सचिव गरी थप १२ पदका लागि पनि निर्वाचन भएको थियो ।
नव निर्वाचित नेतृत्वले युवा संघको संगठनलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता जनाएको छ । कुल १ हजार ७६४ जना मतदाता प्रतिनिधिमध्ये १ हजार ४०४ जनाले मतदान गरेका थिए ।