
पोखरा । विपद् व्यवस्थापन कार्यलाई थप व्यवस्थित तथा प्रभावकारी पार्ने उद्देश्यका साथ गण्डकी प्रदेश सरकारका विभिन्न सरोकारवाला मन्त्रालय, सुरक्षा निकाय, सरकारी एवं गैह्रसरकारी निकायका प्रतिनिधिहरुलाई सहभागी गराई संचालन गरेको अभ्यास हातेमालो २०८२ सोमबार नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरले पोखरामा समापन भएको छ ।
सोमबार नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरले पोखरामा आयोजना गरेको उच्च पर्वतीय क्षेत्रमा हुने विपद् व्यवस्थापन सम्बन्धी ‘अभ्यास हातेमालो’ कार्यक्रमको समापन समारोहमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले विपद् व्यवस्थापन तथा प्रतिकार्य योजनामा प्रदेश सरकारले स्रोतसाधन बढाउँदै जाने बताउनुभएको छ । उहाँले विपद्पछिको खोज तथा उद्धार कार्यमा चाहिने मानवसंसाधन र सामग्री व्यवस्थापनमा प्रदेश सरकारले सहयोग गर्दै आएको उल्लेख गर्नुभयो ।
“प्रदेश सरकारले रू। १० करोडको विपद् व्यवस्थापन कोष बनाएको छ, आगामी दिनमा स्रोतसाधन थप्दै जान्छौँ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “उच्च पर्वतीय विपद् व्यवस्थापन सम्बन्धी छुट्टै योजना बनाउँछौँ ।” विपद् व्यवस्थापनमा प्रदेश सरकार जिम्मेवारपूर्वक लाग्ने उहाँले बताउनुभयो । विपद् पूर्वतयारी र प्रतिकार्य अभ्यासमा प्रदेश सरकारले तीनवटै सुरक्षा निकायलाई सहयोग गदै आएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । उहाँले विपद् व्यवस्थापन समन्वय संयन्त्रको जाँच, खोज तथा उद्धार क्षमताको मुल्याङ्कन, विपद्सँग सम्बन्धित विभिन्न योजना अद्यावधिक तथा विपद् व्यवस्थापनसँग सम्बन्धित विभिन्न अभ्यास र गतिविधि सञ्चालनको मुख्य उद्देश्य सहित सञ्चालन भएको सो अभ्यास उपलब्धिमुलक हुने विश्वास व्यक्त गर्नुभयो ।
विपद् प्रतिकार्यमा समन्वय, सहयोग र सहकार्यका लागि सेनाले ‘अभ्यास हातेमालो’ कार्यक्रम सञ्चालन गरेको सेनाको पश्चिम पृतनाका पृतनापति उपरथी मधुकरसिँह कार्कीले बताउनुभयो ।
उहाँले विभिन्न समयमा आईपर्ने विभिन्न प्राकृतिक प्रकोपको दौरान व्यवस्थापकीय चूनौतीका साथै सुरक्षा चूनौती समेत रहने हुँदा कुनै एक संस्थाको एकल प्रयासबाट मात्र प्रतिकार्य सम्भव नहुने भएकाले एक आपसको समन्वय तथा सहकार्यमा एकिकृत ढंगले अगाडी बढे मात्र लक्षित उद्देश्य प्राप्त हुने बताउनु भएको थियो । कार्कीले विपद् व्यवस्थापनका निमित्त दक्ष जनशक्ति उत्पादनको लागि नेपाली सेनाले राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालय स्थापना भएको पनि बताउनुभयो ।
आइतबार र सोमबार सञ्चालन भएको उक्त एकीकृत अभ्यास कार्यक्रममा गण्डकी प्रदेशमा उच्च पर्वतीय विपद् प्रतिकार्य तथा व्यवस्थापन आयोजनाका विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव लक्ष्मीभद्र वाग्लेले प्रस्तुतीकरण राख्नुभएको थियो । विपद् जोखिममा जलवायु परिवर्तनको असरका विषयमा डा दीपक विक्रम थापा क्षेत्री, उच्च पर्वतीय क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको क्षमता, तयारी र आवश्यकताका विषयमा नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयका सेनानी शक्तिराज श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।
यस्तै मुस्ताङ र मनाङको सिमानामा पर्ने थोरङ भञ्ज्याङमा विसं २०७१ असोजमा आएको हुडहुड चक्रवातको कारण सिर्जित विपद्को अवस्था, खोज तथा उद्धार कार्यको सिकाइका विषयमा सहायक रथी अर्जुन बस्नेत, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी गराउनुभएको थियो ।
विसं २०७९ मा मुस्ताङको थासाङमा भएको तारा एयरको विमान दुर्घटनामा गरिएको खोज तथा उद्धार कार्यका विषयमा सशत्र प्रहरी बल नं. ४ मुक्तिनाथ बाहिनीका सशत्र प्रहरी नायक उपरीक्षक लक्ष्मण बरालले जानकारी गराउनुभएको थियो ।
उच्च हिमाली तथा पहाडी भेगमा खोज तथा उद्धार कार्यक्रम सञ्चालनको अवस्था र चुनौतीका विषयमा हिमालयन उद्धार सङ्घ नेपालका डा सन्तोष बानियाँ , गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयका डा रमेशकुमार केसी र महासेनानी बिक्रमदेब गिरीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम सञ्चालनको सहसेनानी शुस्मिता बुढाथोकीले गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली सेना, सशत्र प्रहरी बल, नेपाल प्रहरीका वरिष्ठ अधिकारी, प्रदेश सरकारका विभिन्न मन्त्रालय र निकायका पदाधिकारी, जनप्रतिनिधि, कर्मचारी, नेपाल रेडक्रस सोसाइटीलगायत गैरसरकारी संस्थाका प्रतिनिधि, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।