
काठमाडौं, जेठ १० । नेपालमा विपदकालीन संकटहरुमा समयमै वित्तीय व्यवस्थापन गर्न सकिने गरी रणनीतिक योजना र संस्थागत संरचना तयार गर्ने उद्देश्यसहित स्टार्ट नेटवर्क नेपालले काठमाडौंमा तीन दिने कार्यशाला सम्पन्न गरेको छ ।
स्टार्ट रेडी कार्यक्रममा विपद् जोखिममा वित्तीय व्यवस्था प्रणालीको ढाँचा निर्दिष्ट गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको यस कार्यशालामा स्टार्ट नेटवर्क नेपालका सदस्य संस्थाहरूका प्रतिनिधिहरू सहित ३६ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूबाट नेपालको सन्दर्भमा विपद् जोखिम वित्तीयकरणको प्राथमिकता पहिचान गर्दै, त्यसअनुसार रणनीतिक मार्गचित्र तथा परिवर्तनको सिद्धान्तको प्रारम्भिक मस्यौदा तयार गरिएको स्टार्ट नेटवर्क नेपालका साझेदारी विज्ञ सम्झना घिमिरेले जानकारी दिनुभयो ।
यसैगरी, भविष्यमा संस्थागत संरचना निर्माण र स्पष्ट कार्ययोजना तथा जिम्मेवारी विभाजनका आधारहरूसमेत कार्यशालाका अवसरमा तय गरिएको छ ।
तीन दिनसम्म चलेको कार्यशालाको पहिलो दिन पूर्वानुमानमा आधारित कार्यको अवधारणा, नेपालमा जलवायु सम्बन्धी हुने प्रमुख जोखिमहरू (जस्तै बाढी, पहिरो, शितलहर, तातो हावा वा लु, खडेरी) का लागि विपद् जोखिम व्यवस्थापन चक्रबारे गहन छलफल गरिएको थियो । सो दिन विपद् तयारीका लागि आवश्यक संरचनाको परिचय र पूर्व तयारी योजनाको प्रारूपसमेत प्रस्तुत गरिएको थियो ।
दोस्रो दिन सहभागीहरूबाट जोखिम विश्लेषण गर्ने तरिका, स्टार्ट रेडी मोडेल अन्तर्गत यसको ढाँचा, वित्तीय प्रवाह तथा खाडल (ग्याप) विश्लेषण, जोखिमहरूको प्राथमिकता निर्धारण र सरोकारवाला नक्सांकन गरिएको थियो ।
तेस्रो दिनको छलफलमा रणनीतिक र दीर्घकालीन पक्ष समावेश गरिएको थियो । सहभागीहरूलाई स्टार्ट रेडीको कार्यसञ्चालन संरचनाको आधार निर्माण, परिवर्तनको सिद्धान्तको स्पष्ट व्याख्या र प्रयोग, र आगामी कार्ययोजना विषयमा अभ्यास गराइएको थियो ।
कार्यशालाई अन्तर्राष्ट्रिय तथा राष्ट्रिय विज्ञहरूको टोलीले सहजीकरण गर्नुभएको थियो । कार्यशालाका सहजकर्ताहरुमा एला जेरी, एनिस्थेसिया निकोसा, सेरेना सुन, सिसल अधिकारी, प्रणव दाहाल, सम्झना घिमिरे, र राजु प्रसाद आचार्य रहनुभएको थियो । उहाँहरूले सहभागी संस्थाहरूलाई विपद्को समयमा निर्णय प्रक्रियामा नेतृत्व लिन सक्ने क्षमताको विकासमा विशेष जोड दिनुभएको थियो ।
स्टार्ट नेटवर्क नेपालले हालसम्म नेपालमा साना र मध्यमस्तरका संकटहरूमा प्रभावकारी रूपमा छिटो प्रतिकार्यका लागि स्टार्ट फन्ड नेपाल मार्फत विभिन्न कार्यहरू गर्दै आएको छ । बेलायतको परराष्ट्र, राष्ट्रमण्डल तथा विकास कार्यालय ९ँऋम्इ० को सहयोगमा २०२१ मा सुरु गरिएको यो फण्डले बाढी, पहिलो, भूकम्प, शीतलहर, तातो लहरजस्ता संकटहरूमा प्रतिकार्यात्मक कार्यका साथै पूर्वअनुमानमा आधारित तयारी समेत गर्दै आएको छ ।
तालिम कार्यशालामा प्रस्तुत विचारहरू, रणनीति र कार्ययोजनाहरू निकट भविष्यमै नेपालको विपद् जोखिम वित्तीयकरण प्रणालीलाई संस्थागत बनाउन महत्वपूर्ण मार्गनिर्देशक हुने अपेक्षा गरिएको छ । स्टार्ट नेटवर्क नेपालले यस तालिमलाई नेपालमा पूर्वतयारी र सशक्त प्रतिकार्यको दिशामा एक महत्वपूर्ण कदमको रूपमा लिएको राष्ट्रिय प्रवन्धक सिसल अधिकारीले जानकारी दिनुभयो ।