पाँचौ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० गते

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । कास्कीको पर्यटकीय गन्तव्य घान्द्रुकमा अन्नपूर्ण म्याराथनको पाँचौ संस्करण यहि जेठ २० गते हुने भएको छ ।
अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजनामा कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा अन्नपूर्ण म्याराथनको पाँचौं संस्करण यहि जेठ २० गते हुने शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।

सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमान राखेको ७५ औं वर्षगाँठको अवसरमा हिरक महोत्सव अन्तर्गत म्याराथन गर्न लागिएको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष तथा म्याराथन प्रतियोगिता संयोजक ललित गुरुङले जानकारी दिनुभयो ।

अन्नपूर्ण हिमाल पदयात्रा मार्गको पूर्वाधार निर्माण प्रयोजनार्थ महिलारपुरुष दुबै विधामा प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक गुरुङले बताउनुभयो ।
सबै मौसमका लागि पर्यटन भन्ने नाराका साथ समुन्द्री सतहको ४ हजार १ सय ३० मिटर उचाई भएको अन्नपूर्ण आधार शिविरबाट शुरु हुने म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, बम्बो, सिनुवा, भनुवा, छोम्रोङ, तउलु घुर्जुङ, चुइले, मेलाँचे, कोम्रोङडाँडा, किम्रोङखोला, उरीहुँदै घान्द्रुक आई समापन हुनेगरी रुट निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो ।

अल्टिमेट एडभेञ्चर नेपालको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको पुरुष तथा महिला दुबै तर्फको स्पर्धामा प्रथम हुनेलाई १ लाख ५० हजार, द्वितीय हुनेलाई १ लाख, तृतीय हुनेलाई ७५ हजारसहित पदक र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

त्यस्तै, प्रतियोगितामा यसपटक अन्नपूर्ण गाउँपालिका भित्रको स्थायी ठेगाना भएका सहभागीमध्ये प्रथम हुने धावक र गण्डकी प्रदेशका धावकमध्ये प्रथम हुनेले पनि विशेष पुरस्कार पाउने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
महिलातर्फ लगातार तीनपटक म्याराथनमा सहभागिता जनाउने धावकलाई प्रोत्साहन स्वरूप विशेष पुरस्कार दिइने उहााले बताउनुभयो ।

प्रतियोगितामा सहभागि अन्र्तराष्ट्रिय धावकहरुमध्ये महिला र पुरुष दुवै समूहमा विदेशी सहभागीमध्ये प्रथम हुनेलाई पनि विशेष पुरस्कार प्रदान गरिने समितिले जनाएको छ ।
यसैगरी, ७५ औं अन्नपूर्ण आरोहण दिवसको अवसरमा म्याराथनमा ७५ औं स्थान हासिल गर्ने धावकलाई ‘डायमण्ड जुब्ली अवार्ड’ प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

यसैबीच, म्याराथनकै अवसरमा “अन्नपूर्ण पत्रकारिता पुरस्कार–२०८२” पनि प्रदान गरिने उहाँले बताउनुभयो ।

म्याराथनमा सहभागिताका लागि १० विदेशीसहित ६० धावकहरुले नाम दर्ता गरिसकेको जनाइएको छ । नाम दर्ताका लागि ७ हजार शुल्क तोकिएको उहाँले जानकारी दिनुभयो ।

म्याराथन सम्पन्न गर्नका लागि करिब ३८ लाख रुपियाँ लाग्ने अनुमान आयोजकको छ । प्रतियोगितालाई अन्नपूर्ण गाउँपालिका, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, छोम्रोङ पर्यटन व्यवस्थापन समिति, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), राष्ट्रिय प्रकृति संरक्षण कोष, घान्द्रुकमा पर्यटन व्यवस्थापन समिति, टाँडापानी पर्यटन व्यवस्थापन समिति, राष्ट्रिय खेलकूद परिषद्, गण्डकी प्रदेश खेलकूद परिषद्, अन्नपूर्ण काठमाडौं समाज नेपाल, गुरु आनन्द फाउन्डेशन, अर्ना वियर, एभेरष्ट बैंक, न्यूरोड शाखा, होटल रक एण्ड मुड, कल्चर रिसोर्ट, घान्द्रुक सी.वाई.सी. क्लिनिकलगायतले सहयोग गरेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

म्याराथनको सम्पूर्ण प्राविधिक पक्ष अल्टिमेट एडभेन्चर नेपालले सम्हाल्नेछ भने कार्यक्रमको व्यवस्थापनका लागि ५०१ सदस्यीय मूल समिति र १३ उपसमिति गठन गरिएको छ ।

म्याराथनका रेस डाइरेक्टर रिक्की योञ्जनले प्रतियोगितामा सुरक्षाको दृष्टिकोणले पूर्ण प्रविधि मैत्री बनाइएको बताउनुभयो । उहाँले हरेक खेलाडीहरुको ‘डाटा’को आधारमा सबैको समय र स्थानको जानकारी लिने हिसावले तयारी गरेको जानकारी दिनुभयो ।

सो अवसरमा संस्थाका सचिब विकास गुरूङ र प्रचार प्रसार समितिका संयोजक टंकराज अधिकारीले आफ्ना भनाई राखेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला