
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले युवालाई आत्मनिर्भर बनाउने योजनामा कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना दोस्रो र युवाका लागि गुणस्तरीय प्राविधिक शिक्षा तथा तालिम परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयको आयोजनामा भएको परियोजना निर्देशन समितिको संयुक्त बैठकमा उहाँले यस्तो बताउनुएको हो ।
“युवाहरूलाई लक्षित गर्दै सञ्चालित यी परियोजनाहरूले सीप, दक्षता र रोजगार सुनिश्चिततामा उल्लेखनीय प्रभाव पार्नेछन् । प्रदेश सरकारले दिगो भविष्य निर्माणका लागि यस्ता योजनाहरूलाई प्राथमिकतामा राखेको छ ।”, उहाँले भन्नुभयो ।
मन्त्री थापाले गुणस्तरीय प्राविधिक तालिम र सीप विकास कार्यक्रमले वैदेशिक रोजगारीमा जाने, स्वरोजगारको सम्भावना खोज्ने तथा उद्यमशील बन्न चाहने युवाहरूलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।
उनले यस्ता परियोजनाहरुले प्रदेशमा सीप विकास, शैक्षिक गुणस्तर वृद्धि, रोजगारी सृजना जस्ता क्षेत्रमा महत्वपूर्ण सुधार ल्याउने बताउनुभयो । विशेषत युवाहरु, महिला, विपन्न तथा पुनः स्थापित श्रमिकहरुको जीवनमा प्रत्यक्ष प्रभाव पर्न थालेको उहाँले उल्लेख गर्नुभयो ।
मन्त्री थापाले मन्त्रालयले स्विजरल्याण्ड सरकारको सहकार्यमा शिक्षा क्षेत्रका तीन महत्वपूर्ण प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम (टिभिईटी) परियोजनाहरु कार्यान्वयन गर्दै आएको जानकारी गराउनुभयो ।
उहाँले सरकारले रोजगारीमुखी प्राविधिक तथा व्यवसायिक शिक्षा, औद्योगिक प्रशिक्षार्थी तालिम, सीप परिक्षण तथा राष्ट्रिय व्यवसायिक योग्यता प्रणाली, स्तर निर्धारण एवम् प्रशिक्षक अनुमति पत्र आदिको कार्यान्वयन मार्फत समृद्ध प्रदेश निर्माणको संकल्प लिएको बताउनुभयो । सामाजिक समावेशितालाई ध्यान दिँदै पहुँचबाट वञ्चित समुदायका लागि प्राविधिक शिक्षाका लागि छात्रवृति लगायत आवासीय तालिम कार्यक्रम संचालन गर्ने भनाई उहाँको छ ।
स्विस विकास सहकार्य (एसडीसी) का प्रमुख माथिएस मेयरले युवाको वृतिविकासमा गण्डकी प्रदेश सरकारले गरेको कामको प्रशंसा गर्नुभयो । उहाँले नीजि क्षेत्र सँग मिलेर साझेदारी मोडलमा गरेको कामलाई उदाहरणका रुपमा लिनुभएको छ । उहाँले मानवसंसाधनको विकासमा स्विस सरकार साथमा रहेको समेत प्रतिबद्धता जनाउनुभएको छ ।
मन्त्रालयका सचिव नवराज ढकालले प्राविधिक र व्यवसायिक शिक्षनलाई बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । स्विस सरकारलाई निरन्तर सहयोग गरिराख्न उहाँको अनुरोध छ । स्थानीय तहसँग समन्वय गर्दै मन्त्रालयले आफ्ना काम, कर्तव्य र अधिकारलाई अगाडि बढाउँदै लगेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य संघ गण्डकीका संस्थापक अध्यक्ष संजीव कोइरालाले स्विस सरकारले दिएको सहयोगलाई आम मजदुरहरुको सीप परिक्षणका लागि खर्च गर्नुपर्ने आवश्यकतालाई औंल्याउनुभयो ।
गोरखा नगरपालिकाका प्रमुख कृष्ण बहादुर रानामगरले प्राविधिक सीपयुक्त शिक्षालाई स्थानीय तहमा प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
जैमिनी नगरपालिका बाग्लुुङका उपप्रमुख हरिहर शर्मा लगायतले बोलेको कार्यक्रममा मन्त्रालयका महाशाखा प्रमुख तोयानाथ लम्सालले परियोजनाको प्रगतिका विषयमा जानकारी गराउनुभएको थियो ।