
काठमाडौं, ३० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बनेपामा निर्माण हुन लागेको फिल्मको इन्डोर छायांकन स्टुडियोको निर्माण सुरु भएको घोषणा गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा ओलीले काभ्रेको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुुडियोको शिलान्यास भएको घोषणा गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले बनेपामा नयाँ फिल्म स्टुडियोको निर्माण सुरु भएको घोषणा गर्दै यस स्टुडियोले नेपाली फिल्म उद्योगमा नयाँ युग ल्याउने अपेक्षा व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले ‘सिनेपाः’ आफैमा ब्रान्ड बन्न सुरु भएको बताउदै स्टुडियोको निर्माणमा सरकारले पूर्णरुपमा सघाउने बताउनुभयो ।
उहाँले सिनेमासहित डबिङ र गायन स्टुडियोलाई समेत समावेश गर्न सुझाव दिदै बनेपा नगरपालिका अन्तर्गतको वडा १० र १३ मा निर्माण हुने स्टुडियो प्राकृतिक हिसाबले रमणीय स्थानमा बन्न लागेको बताउनुभयो ।
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लामो पर्खाइपछि नेपाली फिल्मले सुविधासम्पन्न स्टुडियो बनाउन लागेको बताउँदै सरकारले पूर्ण तरहले सघाउने बताउनुभयो ।
उहाँले चलचित्र ऐन, मिडिया काउन्सिल विधेयक, सामाजिक संजाल विधेयक संसदमा पुगेको बताउँदै पंचायती कानूनमा चलेका कानूनलाई समयसापेक्ष सुधार गर्न लागिपरेको
वरिष्ठ फिल्म निर्देशक नीर शाहले एआई र प्रविधि जडान गरेर स्टुडियोलाई बहुउद्देश्यीय बनाउन सुझाव दिनुभयो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले सकारात्मक सोच राखेमा असम्भव कुरा पनि सम्भव हुने धारणा राख्दै आगामी सातादेखि रियल टाइम बक्सअफिसको सुरुवात हुने डीसीले बताउनुभयो । स्टुडियो, रियलटाइम बक्सअफिस र फिल्म ऐनका काम अघि बढेको बताउँदै उहाँले आफू सकारात्मक ढंगले अघि बढेको बताउनुभयो ।
बनेपा नगरपालिकाको वडा १० र १३ को ४१ रोपनी जग्गामा अत्याधुनिक इन्डोर छायांकन स्टुडियो निर्माण हुन लागेको हो ।
सन् २०२६ भित्र निर्माण पुरा हुने लक्ष्य राखिएको स्टुडियोको बजेट नेपाली ३९ करोड छ । ठेक्का प्रक्रिया स्वीकृत गरेसँगै अहिले निर्माण प्रक्रिया सुरु भएको छ ।