
पोखरा, बैशाख २५ । असल छिमेकी नेपालको आयोजनामा लागू औषध दुरुपयोग विरुद्धको ऐक्यबद्धता ब्यक्ति, समाज र राष्ट्रको प्रतिबद्धता नाराका साथ पोखरा १८ का विभिन्न स्थानहरुमा लागू औषध दुरुपयोग तथा अबैध ओसारपसार विरुद्ध घरदैलो कार्यक्रम विहिबार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतले उद्घाटन गर्दै लागु पदार्थको कुलतमा लागेकाहरुबाट थाहा भए अनुसार वालवालिका वा कुनै पनि व्यक्ति एक्लै कुलतमा लाग्नै नसक्ने, उसलाई साथीले वा अरु कसै मार्फत सुरु गर्ने वानी वस्ने वताउँदै अभिभावकले आफ्ना छाराछोरीहरुको हरेक क्रियाकलापको अनुगमन गर्नुपर्ने वताउनुभयो ।
सो अवसरमा कास्की जिल्ला प्रशासन कार्यालयका अधिकृत सुबोध बाबु पौडेल, रिकभरी नेपालका सल्लाहकार शिव न्यौपाने, लागुपदार्थ नियन्त्रण तथा समाज सुधार आमा समुहकी अध्यक्ष कल्पना आचार्य, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कास्कीका अध्यक्ष हरि प्रसाद पराजुलीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै सचेतनामूलक कार्यक्रमहरु नियमित गर्नुपर्ने सुझाव दिएका थिए ।
जनचेतनामूलक सन्देश लेखिएका प्लेकार्डहरु सहितको ¥यालीले घर घरमा किताब, पर्चा, पम्प्लेटहरु बितरण गरिएको थियो भने स्पिकरबाट पनि जानकारी दिदैं पोखरा १८ सराङकोट स्थित अन्नपूर्ण केबलकार स्टेशन देखि सराङकोट, देउराली पाटन, गोठादी, शिव भञ्ज्याङ, लामा गाउँ, पिपलडाली हुँदै थुम्की सिम्पानी वडा नं २ को कार्यालय नजिक सम्म पैदल हिडेर आएको थियो ।
जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की लगायत विभिन्न संघसंस्थाहरुको समन्वय रहेको उक्त कार्यक्रममा सहयोगी दातृ निकाय केर्क इन अक्टाइ र पोखरा म.न.पा. वडा नं. १८, रिकभरिङ नेपाल, नौलो घुम्ती नेपालको सहआयोजना रहेको थियो ।
पोखरा महानगरपालिका वडा नं. १८ का अध्यक्ष शिव प्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमको बारेमा प्रकाश पार्दै स्वागत असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजेन्द्र कुमार अधिकारीले र कार्यक्रम संचालन पोखरा १८ वडा सचिव हरिकृष्ण आचार्यले गर्नुभएको थियो ।