
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले शिक्षा क्षेत्रमा गुणस्तर र नवप्रवर्तन आवश्यक रहेको बताउनुभएको छ । विहिबार पोखरा लिङ्कन इन्टरनेशनल कलेजको स्नातक बधाई समारोहमा उहाँले यस्तो बताउनुभएको हो ।
“समयअनुकूल शिक्षामा रूपान्तरण आवश्यक छ। शिक्षक र विद्यालयले मात्र होइन, अभिभावकले पनि शिक्षामा सक्रिय भूमिका खेल्नुपर्छ ।”, उहाँले भन्नुभयो ।
मन्त्री थापाले विद्यालय शिक्षा ऐन संघ सरकारले ल्याएपछि प्रदेश सरकारले आफ्नो कानुन बनाउने जानकारी दिनुभयो । उहाँले शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले फ्राइडे फर फ्युचर, सिक्दै कमाउँदै र अभिभावक शिक्षा जस्ता कार्यक्रमहरू ल्याइएको उल्लेख गर्नुभयो ।
“शिक्षा अब केवल किताबी ज्ञानमा सीमित रहनु हुँदैन। प्रविधिमैत्री शिक्षाले मात्रै नेपाललाई बस्न योग्य, सीपयुक्त, र आत्मनिर्भर बनाउँछ”, उहाँले भन्नुभयो । मन्त्री थापाले उद्यमशीलता विकासका कार्यक्रमलाई प्राथमिकता दिँदै शिक्षालाई आत्मनिर्भर बनाउन आवश्यक रहेको बताउनुभयो ।
स्नातक कार्यक्रममा सहभागी भएका विद्यार्थीलाई शुभकामना दिँदै उहाँले नेपालमै अपार सम्भावना रहेको र युवाहरूले पढाइसँगै सीप विकासलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्ति, विद्यार्थी, शिक्षक र अभिभावकहरूको उपस्थिति रहेको थियो । कलेजले समेत भविष्यमा गुणस्तरीय र व्यवहारिक शिक्षाको विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।